जेनजीको माग प्रधानमन्त्रीको राजीनामा थिएन : ओली

केन्द्रभाग मिडिया

काठमाडौं।

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजीको माग प्रधानमन्त्रीको राजीनामा नभएको बताएका छन् । ओलीले आन्दोलनको मुख्य उद्देश्य सरकार परिवर्तन नभएको बताएका छन्। आइतबार राजधानीमा सञ्चारमाध्यमका सम्पादकहरूसँगको अन्तरक्रियामा उनले जेनजी आन्दोलनका मागलाई सही र न्यायोचित ठहर गर्दै आफू त्यही उद्देश्यका लागि प्रतिबद्ध रहेको स्पष्ट पारे।

‘यो अहंकारको कुरा होइन, सत्य बोल्ने मेरो बानी हो,’ ओलीले भने, ‘जेनजीहरूले विरोध प्रदर्शनका लागि तयारी गरेका थिए, तर उनीहरूको खुला तीन वटा माग मात्रै थिए — भ्रष्टाचार नियन्त्रण, सुशासन कायम र सामाजिक सञ्जाल खुला राखिनुपर्छ भन्ने।’

उनका अनुसार ती मागहरू राष्ट्रिय हितसँग मेल खाने र सुधारको दिशामा उन्मुख थिए। ओलीले थपे, ‘उनीहरूले प्रधानमन्त्रीको राजीनामा मागेका थिएनन्। म तिनै तीन कुराका लागि लडिरहेको थिएँ।’

पूर्व प्रधानमन्त्री ओलीले आफू सामाजिक सञ्जाल बन्द गर्ने नभई उत्तरदायी रूपमा सञ्चालन गर्नुपर्ने पक्षमा रहेको पुनः दोहोर्याए।

  • २ कार्तिक २०८२, आईतवार १६:१९ प्रकाशित