काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कात्तिक दोस्रो सातालाई तय भएको विस्तारित भेला एक साता पछि सर्ने भएको छ ।
पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीले विकसित राजनीतिक घटनाक्रम र आन्तरिक तयार अपुगका कारण एक साता पछि सर्नसक्ने बताए ।
‘कात्तिक १४ र १५ गते विस्तारित भेला राखेकोमा त्यो मिति सरेर कात्तिक २१ र २२ पुग्नसक्छ’, महामन्त्री बुर्लाकोटीले भने, ‘ठ्याक्कै निर्णय नै भैसकेको अवस्था होइन, आजबेलुका सम्म परिवर्तित मिति सार्वजनिक हुन्छ ।’
उनले शनिबार बसेको सचिवालयको भर्चुअल बैठकमा विस्तारित भेलाको मितिबारे छलफल भएको बताए ।विस्तारित बैठकमा केन्द्रीय समिति, सल्लाहकार परिषद् र पार्टी विभागका पदाधिकारी तथा जिल्ला सभापतिलाई सहभागी गराउने रास्वपाले जनाएको थियो ।
रास्वपाले आगामी फागुन ७,८ र ९ गते पहिलो महाधिवेशन गर्ने बताउँदै आएको छ । यद्यपि फागुनमै प्रतिनिधि सभा निर्वाचन हुने निश्चित भएमा महाधिवेशन समेत सार्ने रास्वपाको तयारी छ ।














