पोखरा ।
जेनजी आन्दोलनका क्रममा भड्किएको भिडले आगजनी भएको जिल्ला प्रहरी कार्यालय मर्मतसंहार गर्र्दै कास्की प्रहरी पुरानै लयमा फर्कने क्रममा छ । यसैक्रममा उसले स्वयम प्रहरी कर्मचारी र आम सर्वसाधारणको मनोबल उठाउन भन्दै मिसन ३६५ सञ्चालन गरेको छ ।
२४ भदौमा जिल्ला प्रहरी कार्यालय कास्की र यस मातहतका विभिन्न युनिटमा भएको आगजनीमा मोडिफाई गरिएका मोटरसाइकलले अस्वभाविक आवाज निकाल्दै त्यसमा सवारहरु नै धेरै मात्रामा सहभागी भएको हुनसक्ने आंकलनसहित यस्ता मोटरसाइकल र त्यसमा सवारलाई नियन्त्रणमा लिने क्रम जारी छ ।
मिसन ३६५ सञ्चालन गरेको दिन देखि शुक्रबार साँझसम्म यस्ता १०५ मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । जस २८ जना चालक प्रहरीको नियन्त्रणमा छन् भने १६ जनालाई कागज गराएर आफन्तको जिम्मा लगाइएको कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक नविन कार्कीले जानकारी दिए । उनका अनुसार साइलेन्सर पड्काएर डिउटीमा रहेका प्रहरी जिस्क्याउने, समाजमा सान्ति सुरक्षा खलबल पार्ने र विभिन्न अपराधमा समेत संलग्न भएकाहरुलाई मुद्दा दायर गर्ने प्रक्रियामा प्रहरी रहेको छ ।
मोडिफाई मोटरसाइकललाई पुरानो अवस्थामा पुर्याएर मात्र फिर्ता दिने प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए । उनीहरुलाई यातायात कार्यालयमा १५ हजार रुपैयाँ जरिवाना समेत गराइएको छ । प्रहरीले यसरी चालेको ३६५ अभियानलाई अहिले समाजका विभिन्न तहमा रहेका नागरिकले समेत साथ दिएका छन् । जनतासंग साथ लिएर नै समाजमा रहेको गुण्डागर्दी र आतंक नियन्त्रणमा लिएर शान्ति सुरक्षालाई कायम राख्ने आफ्नो मुख्य उद्देश्य रहेको प्रहरी प्रमुख कार्कीले बताए ।
जिल्ला प्रहरी कार्यालय कास्कीको फेसबुकमा नै कमेन्ट गरेर यहाँ यस्तो छ भनेर आम नागरिकले नै जानकारी दिएका छन् ।
जेन्जी आन्दोलनका क्रममा जिल्ला प्रहरी कार्यालय कास्की र यस मातहत रहेका विभिन्न प्रहरी २३ युनिटका भौतिक संरचना ध्वस्त पारिएका थिए । प्रहरीका व्यक्तिगत सम्पत्ति र प्रहरी कार्यालयबाट हतियार समेत लुटिएका छन् ।
आगजनी र तोडफोडमा परेका कार्यालहरुको पूननिर्माण नागरिककै सहयोगमा ९० प्रतिशत सकिएको उन बताए । प्रहरीको मनोबल उकास्नेकाम नागरिक तहबाट नै भएको भन्दै कास्की प्रहरी प्रमुख कार्कीले सबैप्रति आभार प्रकट गरेका छन् । २४ गतेको घटनामा जसरी सुरक्षा दिने दायित्व प्रहरीको थियो, त्यो दायित्व पूरा गर्न नसकेको र नागरिकका निजी घर, सम्पत्ति र व्यवसाय समेत जोगाउन नसकेकोमा उनले माफी समेत मागेका छन् ।
कास्की प्रहरी अभाव छ भनेर सुतेर बस्ने अवस्था नरहेको भन्दै उच्च मनोवलका साथ मोटरसासाइकल आतंक र गुण्डागर्दी नियन्त्रण गर्दे शान्ति अमनचायन कायम गर्न कास्की आफूहरु सक्षम रहेको उनले बताए । प्रहरीको भरोसा गर्दै सहकार्य गर्न समेत उनले आम समूदायसंग आग्रह गरेका छन् ।
दशैं सकिएको, तिहार, छठ नेपाल सम्बत लगायतका चाडपर्व मनाउने क्रम रहेकाले यस्तो बेला जुवाजन्य गतिविधिर चोरीडकैती हुनसक्ने भएकाले संकास्पद गतिविधि देखिए प्रहरीमा खबर गरेर सहयोग गर्न उनले भनेका छन् । अहिलेपनि धेरै कैदी तथा थुनुवा पक्राउ पर्न बाँकी रहेकाले सुरक्षामा चुनौति रहेको उनको विश्लेषण छ । समाज, प्रहरी र प्रशासनसंग मिलेर सावधानी अपनाउँन उनले आग्रह गरे ।
विभिन्न ठाउँमा नागरिक सुरक्षा समूह गठन भएका, विभिन्न टोलमा शान्ति सुरक्षा गस्ति गरिएका उदाहरण दिँदै यसले प्रहरीलाई शान्ति सुरक्षा काम गर्न मद्दत पुग्ने उनले सुनाए । लक्ष्मी पुजाकोे दिन गहना पैसा सो नगर्न, गहना लगाएर सार्वजनिक स्थलहरुमा नजान समेत उनले आग्रह गरेका छन् । साथै फेसबुकमा पोस्ट गरेर यहाँ र त्यहाँ घुम्न जाने भन्दै चोरलाई घरमा निम्ता नदिन पनि उनले नागरिकलाई सचेत गराएका छन् ।














