पोखरा ।
नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको उपाधि उचालेको छ । दुई खेल अगावै विश्वकपका लागि छनोट भइसकेको नेपालले शुक्रबार भएको सुपर सिक्सको अन्तिम खेलमा सामोयामाथि १ सय २४ रनको फराकिलो जित निकाल्दै छनोटको उपाधि उचालेको हो ।
नेपालले दिएको २ सय २१ रनको विशाल लक्ष्य पछ्याएको सामोयाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ८७ रन मात्र बनाउन सक्यो ।
सामोयालाई सस्तैमा रोक्न नेपालका लागि ललित राजवंशीले ३ विकेट लिए । उनले आफ्नो स्पेलमा १ मेडन राख्दै मात्र १३ रन खर्चे । करण केसी, सन्दीप लामिछाने र रोहित पौडेलले समान एक विकेट आफ्नो नाममा गरे ।
सामोयाका लागि सियन सोलियाले सर्वाधिक ४० रन बनाए । बेन्जामिन माइलताले ११ रन थपे । अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
त्यसअघि ओमानको अल एमिरेट क्रिकेट मैदानमा सामोयाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय ११ रनको योगफल तयार पारेको हो ।
नेपालका लागि ओपनर आशिफ शेखले सर्वाधिक ६९ रनको योगदान दिए । उनले ४१ बलमा ७ चौका र ४ छक्का प्रहार गरे । दीपेन्द्र सिंह एरिले ३३ बलमा २ चौका र ४ छक्का सहयोगमा ५३ रन थपे । लोकेश बम ३९ र कप्तान रोहित पौडेल २१ रनमा अविजित रहे । कुशल भुर्तेल १७ रनमा बोल्ड आउट भए । आरिफ शेखले ९ रन बनाए ।
विश्वकपको एसिया इस्ट प्यासिफिक छनोटबाट नेपालसहित ओमान र यूएईले स्थान पक्का गरे । कतार, जापान र सामोया छनोट चरणबाट बाहिरिइसकेका छन् । सुपर सिक्सको सबै खेलमा पराजित हुने सामोया एक्लो टोली हो ।
छनोटको ५ खेलबाट १० अंक बनाएको नेपाल शीर्ष स्थानमा छ । ५ खेलबाट ८ अंक भएको ओमान दोस्रो स्थानमा उक्लेको छ । समान खेलबाट ६ अंक भएको यूएई तेस्रो स्थानमा छ । आजै भएको सुपर सिक्सको पहिलो खेलमा जापानलाई ९ विकेटले पराजित गर्दै ओमान दोस्रो स्थानमा उक्लेको हो ।















