सरकारले शान्ति सुरक्षाको प्रत्याभूति दिलाउनुपर्छ : कांग्रेस

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसले आगामी फागुन २१ गतेका लागि घोषणा गरिएको निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले आम नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउनुपर्ने बताएको छ ।

निर्वाचन आयोगले बिहीबार निर्वाचनका सन्दर्भमा राजनीतिक दलहरूसँग गरेको छलफलमा कांग्रेसले दलहरू शान्ति सुरक्षामा विश्वस्त नभएको बताएको हो ।

कांग्रेसका तर्फबाट बैठकमा सहभागी प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले निर्वाचन सम्पन्न गर्नका लागि सरकारले वातावरण निर्माण गन नसकेको बताए ।

साथै विश्वकर्माले निर्वाचनको वातावरण निर्माणमा सरकार, निर्वाचन आयोग, सुरक्षा निकाय र राजनीतिक दलहरूसँगै बस्ने वातावरण निर्माण गर्न पनि आग्रह गरे ।

उनले सुशीला कार्की नेतृत्वको सरकारका मन्त्रीहरूले निर्वाचनको वातावरण निर्माण गर्ने अभिव्यक्ति दिनुपर्नेमा त्यस विपरीत अभिव्यक्ति दिएको भन्दै अभिव्यक्तिमा लगाम लगाउनुपर्ने बताए ।

दलहरूमाथि सरकारबाट प्रतिशोधपूर्ण व्यवहार भएकोले त्यो बन्द गर्दै सहकार्यको वातावरण निर्माण गर्नुपर्ने धारणा बैठकमा राखेको विश्वकर्माले बताए ।

  • ३० आश्विन २०८२, बिहीबार १६:१८ प्रकाशित