मधेश प्रदेशमा कांग्रेस-एमाले बाहेकको सरकार बनाउने कसरत

केन्द्रभाग मिडिया

काठमाडौं ।

मधेस प्रदेशमा कांग्रेस-एमालेलाई बाहेकको सरकार गठनको तयारी भएको छ । जनमत पार्टीबाट मुख्यमन्त्री बनेका सतिशकुमार सिंहले मंगलबार राजीनामा दिएपछि मधेसमा नयाँ सरकार गठनको लागि उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, लोसपा लगायतका दलबीच छलफल चलेको हो।

कांग्रेस र एमालेले मधेसमा कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादवको नेतृत्वमा सरकार बनाउने तयारी अघि बढाएपछि इतर पक्षले पनि नयाँ गठबन्धनको कसरत गरेका हुन् ।

मुख्यमन्त्री सिंहले मंगलबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नयाँ नियुक्तिका लागि दाबी पेस गर्न आज अपरान्ह चार बजेसम्मको सयम दिएकी छन् । एक सय सात सदस्यीय मधेस प्रदेशसभा सरकार बनाउन ५४ सिट आवश्यक पर्छ।

प्रदेस सभामा जसपा नेपालका १९, जनमतका १३, नेकपा माओवादी केन्द्र र लोसपाका ९–९, नेकपा एकीकृत समाजवादीको ७ सांसद छन् । लोसपाका एकजना सांसद निलम्बित छन् । यी पाँच दल मिले भने मधेसमा सरकार गठनको लागि बहुमत पुग्छ ।

मधेसमा कांग्रेस र एमालेलाई मात्रै सरकार बनाउन बहुमत पुग्दैन । यहाँ एमालेको २५ र कांग्रेसको २२ सिट छ । नागरिक उन्मुक्ति, राप्रपा र संघीय समाजवादी पार्टीका प्रदेश सभामा १–१ सिट छ ।

  • २९ आश्विन २०८२, बुधबार ०९:२० प्रकाशित