पोखरा ।
जिल्ला मालपोत कार्यालय कास्कीले छिट्टै आफ्नो सेवा सञ्चालनमा ल्याउने भएको छ । नेपाल कानुन व्यवसायी एसोसिएसन पोखरा इकाईको सहयोगमा दुई वटा कार्यालय भवन निर्माण भएर हस्तान्तरण भएसंगै कार्यालयले तिहार अगाडि नै आफ्नो अत्यावस्यकीय सेवा सञ्चालनमा ल्याउने तयारी गरेको जिल्ला मालपोत कार्यालय कास्कीका निमित्त प्रमुख सोभाखर पोखरेलले जानकारी दिए ।
उनले जग्गाधनी पूर्जा भएको, नागरिकता, तिरो तिरेको रसिद, वडाको सिफारिस जस्ता अत्यावस्यक कागेजात लिएर आए तत्काल सेवा दिनेगरी तयारी भइरहेको बताए । अबको तिहार अगाडि नै मालपोत कार्यालय कास्कीले अत्याव्यसकिए सेवा दिने तयारीमा रहेको उनको भनाई थियो ।
नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन स्थापना दिवशको अवसर पारेर मंगलबार पोखरा इकाइले नवनिर्मित कार्यालय भवन तथा कार्यालय सामग्री हस्तान्तरण गरेको हो । नवनिर्मित कार्यालय एवं सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जेनजी युवाहरुले आगजनी र लुटपाट नगरेको बताए । धेरैखालको आग्रह र निहित स्वार्थ पूरा गर्न जेनजीका नाममा स्वर्थी समूहले सरकारी संरचनाहरु जलाएको उनको भनाई थियो ।
जेनजी आन्दोलनको क्रममा पोखरा महानगरपालिकाको २ अर्वभन्दा धेरैकोको क्षति भएको भएपनि सरकारी र सरोकारवाला कार्यालयले सेवा प्रवाह गर्नका लागि महानगरले सक्दो हातेमाले गरेको जानकारी दिए । उनले मालपोत कार्यालयका धेरै डाटा सुरक्षित रहेको हुनसक्ने भन्दै त्यति ठूलो समस्या नआउने उल्लेख गरे । महानगरपालिकाले ३६ लाखको लागतमा दुईवटा भवन बनाइदिने प्रक्रिया अगाडि बढेको बताए । पूर्ण रुपमा ध्वस्त भएका कार्यालय भवनहरुको नक्सा सुल्क नलिने लगायतका विषयमा महानगर छलफलमै रहेको उनको भनाई छ ।
पोखरा महानगरपालिकाले ३३ अर्ब रुपैयाँ बराबरका आयोजना सहयोगमा अगाडि बढाएको जानकारी दिँदै नागरिकको सहकार्य र सहयोग लिन सकिने बताए । तर, त्यो पारदर्शी हुनुपर्ने धारणा राखे ।
गण्डकी प्रदेशका प्रमुख सचिव डुन्डुराज घिमिरेले तत्काल सेवा गर्ने वातावरण बनाएर लेखेपढी कानुन व्यवसायीले महत्वपूर्ण योगदान दिएको बताए । उनले प्रदेशबाट दिने सेवा दशैं अगाडिबाट नै सेवा दिन सुरु गरिएको जानकारी दिए । उनले केही कार्यालयहरु रङरोगन गरेरर र फर्निचारको व्यवस्था गरेर सञ्चालन गरिएको बताए ।
नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन पोखरा इकाइका अध्यक्ष मौसम कार्कीले ढलेको कार्यालयलाई माथी उठाउने र सेवाप्रवाहलाई अगाडि बढाउनका लागि सबैको सहयोगमा कार्यालय भवन निर्माण गरेर हस्तान्तरण गरिएको जानकारी दिए । पोखरा उद्योग वाणिज्य संघ र रियलस्टेट व्यवसायी लगायतबाट सहयोग भएको उनले बताए ।
मालपोत कार्यालय सेवा दिने कार्यालय नभई घुसखाने कार्यालय हो भन्ने भाष्य निर्माण गरिएकोमा उनले दुख प्रकट गरे । अझ भएजतिका सबै संरचना ध्वस्ता परिँदा समस्या भएको उनले सुनाए ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण काकी, इन्द्रेणी ग्रुपका अध्यक्ष एवं सञ्चारकर्मी कृष्ण कंडेल र नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन पोखरा इकाइका सचिव लिला गिरी लगायतले उक्त अवसरमा बोलेका थिए ।
सचिव गिरीका अनुसार दुई वटा कार्यालय भवन मर्मत तथा सामग्री हस्तान्तरका लागि व्यवसायी कालु गुरुङले ५ लाख ५० हजार रुपैयाँ र इन्द्रेणी ग्रुपले ५० हजार रुपैयाँ समेत गरेर उद्योगी व्यवसायी, रियल स्टेट व्यवसायी र लेखापढी कानुन व्यवसायी समेत गरेर १३ लाख ६७ हजार २५५ रुपैयाँ सहयोग संकलन भएको थियो ।















