पोखरा ।
जिल्ला प्रहरी कार्यालय कास्कीले असोज २७ अर्थात हिजो सोमबार साँझ देखी ‘अपरेशन थ्री सिक्स्टी फाइभ’ सञ्चालन गरेको छ ।
मोटरसाईकलको स्वरुप परिवर्तन गराई ठुलो आवाज निकाली ध्वनी प्रदुषण गर्ने, समाजलाई आतंकित पार्ने, शान्ति सुव्यवस्था खलल पार्ने खालका गतिविधी बढेपछि प्रहरीले सो अपरेशन थालेको हो ।
प्रहरीले अब रातको समयमा होहल्ला गर्दै हिड्ने, मोटरसाईकलको स्वरुप परिवर्तन गरी चर्को आवाजमा ध्वनी प्रदुषण गर्दै हिड्ने, शान्ति सुव्यवस्थामा खलल पार्ने र नियन्त्रणमा लिने प्रयास गर्दा प्रहरी संग झै(झगडा गर्ने मोटरसाईकल चालक र सवारी साधन समेत नियन्त्रणमा लिई आवश्यक कानूनी कारवाही प्रकृया अगाडी बढाउन थालेको जनाएको छ ।
अब यो अपरेशन निरन्तर रुपमा संचालन हुने प्रहरीले बताएको छ ।सवारी साधन धनिले आफ्नो सवारी साधन मोडिफाई नगरी पुर्ववत असली स्वरुपमा सवारी साधन चलाउन प्रहरीले आग्रह गरेको छ । र मोडिफाई गर्ने कार्यमा संलग्न ग्यारेज, वर्कसप, रिकन्डिसन हाउस सञ्चालकहरूले समेत उक्त कार्य नगर्न नगराउन अनुरोध गरेको छ ।
सवारी साधनको मोडिफाई गरी सवारी साधन चलाएको पाएमा सवारी साधन धनि र उक्त कार्यमा संलग्न व्यक्तिहरुलाई कानून बमोजिम कारवाही हुने प्रहरीले चेतावनी दिएको छ ।















