काठमाडौं ।
इजरायलले सोमबार गाजाबाट हमासले मारिएको भनेका चार बन्धकका शव प्राप्त गरेको छ।
हमासले विपिन जेशीसहित गुए इलौज, योसी शराबी र ड्यानियल पेरेजका शवहरू हस्तान्तरण गरेको बताएको छ। इजरायली रक्षा बल (आईडीएफ) ले सोमबार साँझ गाजा पट्टीमा तैनाथ सेनाले रेड क्रसबाट मारिएका बन्धकहरूको चारवटा शवपेटिकाहरू बुझेको जनाएको छ।
इजरायलको राजधानी तेलअभिभस्थित इजरायली सेनाको अस्पतालमा शव ल्याइपुर्याइएको इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले पनि पुष्टि गरेका छन् ।
इजरायली प्रहरी अधिकारीहरूले चार बन्धकका शवहरूलाई तेल अभिभको अबु कबिर फरेन्सिक इन्स्टिच्युटमा पहिचानका लागि लगेका छन्। विगतमा पनि हमासले बन्धकहरूको सट्टामा अन्य शवहरू पठाएको घटनाहरू भएकाले पहिचान प्रक्रियामा दुई दिनसम्म लाग्न सक्ने अधिकारीहरूले बताएका छन्।















