काठमाडौं ।
प्रतिष्ठित न्यूयोर्क टाइम्सले २४ भदौमा देशभर भएका आगजनी सुनियोजित रहेको जनाएको छ । आइतबार एक खोजमूलक सामग्री प्रकाशित गर्दै टाइम्सले देशभर भएका आगजनी सुनियोजित रहेको उल्लेख गरेको हो ।
अघिल्लो दिन १९ जनाको ज्यान जानेगरी सुरक्षाकर्मीले भ्रष्टाचारविरोधी प्रदर्शनमा सुरक्षाकर्मीले गोली चलाएको विरोधमा भोलिपल्ट आगजनी भएको आम बुझाइ छ । यद्यपि आफ्नो अनुसन्धानमा यस बुझाइमा आशंका गर्ने ठाउँ रहेको टाइम्सले उल्लेख गरेको छ ।
अखबारले दर्जनौँ प्रत्यक्षदर्शी, सहभागी र आगलगीविदसँगको कुराकानी, घटनाका भिडियो र तस्बिरको विश्लेषण तथा घटनास्थलमा टाइम्सका प्रतिनिधिको भ्रमणपछि उक्त सामग्री प्रकाशित गरेको हो । समाचारमा यस्तो ‘राष्ट्रव्यापी सुनियोजित विध्वंशकारी आक्रमण’ बारे नयाँ विवरणको खुलासा हुने र ती घटना स्वस्फूर्त भएकोमा आशंका उत्पन्न हुने उल्लेख गरिएको छ ।
गत २३ भदौमा प्रदर्शनमा गोली चलेको केही घण्टालगत्तै ‘प्रयोग गर्न तयार सूची’ अनलाइनमा सार्वजनिक हुन थालेको थियो । ती सूचीमा भ्रष्टाचार र नातावादको सञ्जालमा आबद्ध रहेको ठानिएका समाजका सदस्यको निजी विवरण समावेश थिए ।
भोलिपल्टको दिउँसो ती मानिसको आवासमा आगो लाग्न थालिसकेको थियो । नेपालको कार्यकारी, व्यवस्थापिका र न्यायपालिका शाखालाई पनि आगोले निलिसकेको थियो । न्यूयोर्क टाइम्सले यसलाई केही घण्टाको अवधिमा सयौँ हवाइ आक्रमणसँग तुलना गरेको छ ।














