नेकपा एसको सचिवालय बैठक बस्दैं : पार्टी एकताबारे छलफल हुने

केन्द्रभाग मिडिया

काठमाडौं ।

पार्टी एकता, निर्वाचन लगायतका विषयमा छलफल गर्न नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आइतबार बस्दैछ ।शुक्रबार सुरु भएको बैठकको निरन्तरतास्वरुप आज पनि बैठक बस्न लागेको उपाध्यक्ष प्रकाश ज्वालाले जानकारी दिए ।

उनका अनुसार पहिलो दिनको बैठकमा केही नेताहरूले पछिल्लो राजनीतिक अवस्थाको रिपोर्टिङ मात्र गरेको र आज ती विषयहरूमा छलफल गरेर निर्णयमा पुग्ने तयारी छ ।

बैठकमा समसामयिक राष्ट्रिय राजनीतिक परिस्थितिको अलावा निर्वाचनको कार्ययोजना, पार्टी एकतासम्बन्धी रिपोर्टिङ र सङ्गठनात्मक सवालमा छलफल हुनेछ । सङ्गठनात्मक सवालमा केन्द्रीय कमिटीको बैठक र एजेन्डाका विषयमा पनि निर्णय गर्ने तयारी छ ।

निर्वाचनसम्बन्धि तयारी र कार्ययोजना बनाउन सो पार्टीले महासचिव घनश्याम भुसालको नेतृत्वमा कार्यदल बनाएको थियो ।

शुक्रबारको बैठकमा नेता बेदुराम भुसालले एकताबारे सामान्य रिपोर्टिङ गरेका थिए । उनको रिपोर्टिङमा माओवादीसँग एकता गर्न सैद्धान्तिक र कार्य क्रमिक रूपमा कुनै समस्या नरहेपनि सांगठानिक विषयमा थप गृहकार्य गर्नुपर्ने आवश्यकता औँल्याएको एक सचिवालय सदस्यले जानकारी दिए ।

पछिल्लो समय एकीकृत समाजवादी, माओवादी, नेकपा र नेसपा लगायतका पार्टीसँग एकताका तीव्र छलफल अघि बढेको छ ।

उपाध्यक्ष जगन्नाथ खतिवडाले पार्टी एकताका लागि सकारात्मक छलफलहरू भइरहेको बताए ।

  • २६ आश्विन २०८२, आईतवार ११:४६ प्रकाशित