कांग्रेसको संस्थापनपक्ष मंसिरमा महाधिवेशन नगर्ने पक्षमा देखियो

केन्द्रभाग मिडिया

काठमाडौं।

नेपाली कांग्रेसको संस्थापन पक्ष आगामी मंसिरमै पार्टीको महाधिवेशन नगर्ने पक्षमा देखिएको छ । बिहीबारबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा संस्थापन पक्षले मंसिरमा समय थोरै भएकाले महाधिवेशन गर्न सम्भव नभएको बताएको हो ।

बैठकमा संस्थापन पक्षमा सहमहामन्त्रीद्वय महेन्द्र यादव र उमाकान्त चौधरी तथा पूर्वउपभापति विमलेन्द्र निधिले धारणा राखेका थिए । तीन नेताले धारणा राख्नेक्रममा मंसिरमा नियमित महाधिवेशन गर्न समय अपुग हुने बताएका थिए ।

पूर्वउपसभापति निधिले नियमित वा विशेष महाधिवेशनतिर नलागी पार्टीलाई सरकारले घोषणा गरेको निर्वाचनमा केन्द्रित गर्नुपर्ने बताएका थिए । निधिले नेतृत्वको वैधानिक हस्तान्तरण आवश्यक रहेको र त्यो मंसिरभित्र सम्भव नरहेको बताएका थिए । तत्कालका लागि कार्यवाहक सभापति बनाएर निर्वाचनको तयारी गर्नु उपयुक्त रहेको उनको भनाइ थियो ।

सहमहामन्त्री उमाकान्त चौधरी र महेन्द्र यादवले भने क्रियाशील सदस्यता नवीकरण र वितरणको काम नसकिएकाले मंसिरमा महाधिवेशन गर्न नसकिने बताएका थिए । बिहीबारको बैठकपछि प्रवक्ता डा। प्रकाशशरण महतले समयको पावन्दीले मंसिरमा महाधिवेशन गर्न गाह्रो हुन्छ कि भन्ने धारणा पनि बैठकमा आएको बताएका थिए ।बैठकमा पार्टीभित्रको इतर समूहका नेता डा.शेखर कोइरालाले नियमित महाधिवेशन गर्नुपर्ने बताएका थिए ।

महामन्त्री थापाले वर्तमान कार्यसमितिको म्याद मंसिरसम्म रहेकाले थप्न नहुने बताएका थिए । आफूले कार्यसमितिको म्याद थप्ने प्रस्ताव महामन्त्रीका हैसियतमा केन्द्रीय समिति बैठकमा नलैजाने पनि बताएका थिए ।

  • २४ आश्विन २०८२, शुक्रबार ११:४९ प्रकाशित