एजेन्सी ।
इजरायल र हमासबिच सहमति भएको युद्धविराम योजनाको पहिलो चरणअन्तर्गत गाजामा रहेका सबै बन्धकहरू सोमबारसम्ममा रिहा हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्।
हमास र उसका सहयोगीहरूले इजरायलबाट २५१ जनालाई अपहरण गरी गाजा लगेको दुई वर्षभन्दा बढी समयपछि पनि ४८ जना बन्धक गाजामै छन्, जसमध्ये कम्तीमा २० जना जीवित रहेको विश्वास गरिएको छ। अर्का एक बन्धक, इजरायल डिफेन्स फोर्सेस (आईडीएफ)का सैनिक हादार गोल्डीनको शव २०१४ देखि नै गाजामा राखिएको छ।
सीएनएनको तथ्याङ्क अनुसार इजरायली सरकारले बाँकी ४८ जना बन्धकहरूमध्ये २६ जनाको मृत्यु भइसकेको जनाएको छ । यद्यपि तामिर निम्रोदी र बिपिन जोशीको अवस्था अझै अनिश्चित छ। सरकारले पहिले नै उनीहरूको भाग्यलाई लिएर ‘गम्भीर चिन्ता’ व्यक्त गरेको थियो।
जीवित रहेको विश्वास गरिएका बन्धकहरू सबै पुरुष हुन् र एक जनाबाहेक सबै २० देखि ३० वर्षका छन्। अघिल्ला युद्धविराम सम्झौताहरू अन्तर्गत महिला, बालबालिका र ५० वर्षभन्दा माथिका पुरुषहरूलाई रिहा गरिएको थियो। घोषित २६ मृतकहरूमध्ये इनबार हेम्यान नामक एक महिला पनि छिन्।
अझै जीवित रहेको वा अवस्था अज्ञात रहेकाहरूमध्ये ११ जनालाई नोभा म्युजिक फेस्टिभलबाट लगिएको थियो। आठ जनालाई दक्षिणी इजरायलका विभिन्न किबुत्जिम (साना समुदाय) बाट अपहरण गरिएको थियो।
बाँकी तीन जना इजरायली सैनिक छन् . दुई जनालाई सैन्य आधार शिविरबाट र एक जनालाई ट्याङ्कीबाट अपहरण गरिएको थियो।















