काठमाडौं ।
गत २३ र २४ भदौको घटनासम्बन्धी जाँचबुझ आयोगले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्धको जाहेरी पत्र आयोगले जिल्ला प्रहरी परिसर काठमाडौँलाई नै फिर्ता पठाएको छ । आयोगले आफ्नो कार्यक्षेत्र भित्र नपर्ने भन्दै जायरी फिर्ता पठाएको हो ।
बिहीबार आयोगका प्रवक्ता विज्ञान राज शर्माले प्रेस विज्ञप्ति जारी गर्दै उक्त जाहेरी आयोगको कार्यक्षेत्रभित्र नपर्ने बताए । नेपाल सरकारले यस आयोगको अधिकार क्षेत्र र जिम्मेवारीहरूका सम्बन्धमा भदौको २३ र २४ गते प्रदर्शनका क्रममा भएका भौतिक एवं मानवीय क्षतिको यथार्थ छानबिन गर्ने, घटना घट्नुका कारणका सम्बन्धमा यथार्थ जाँचबुझ गरी सो को यकिन राय सुझाव सहितको प्रतिवेदन पेस गर्ने, भौतिक एवं मानवीय क्षतिसँग सम्बन्धित सूचना वा निवेदन ग्रहण गरी विश्लेषण गर्ने र कारबाहीको सम्बन्धमा आवश्यक राय दिने कार्यादेश यस आयोगले पाएको छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।
फौजदारी वारदातमा विस्तृत अनुसन्धान तहकिकात गरी कसूरदार देखिने अवस्थामा अभियोजन समेत लगाउने कार्य आयोगको कार्यक्षेत्रभित्र नपरेको समेत जारी विज्ञप्तिमा प्रस्ट पारिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँले ओली र लेखकविरुद्धको जाहेरी पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगमा पठाएको थियो ।
जेनजी आन्दोलनमा हिंसात्मक गतिविधि भएको थियो ।














