भीरकोटका व्यवसायीद्धारा कर नतिर्ने घोषणा

प्रकाश डोटेल

स्याङ्जा ।

स्याङ्जाको भीरकोट नगर उद्योग वाणिज्य संघले भीरकोट नगरपालिकालाई कुनै पनि प्रकारको स्थानीय कर नतिर्ने घोषणा गरेको छ । संघले एक विज्ञप्ति जारी गर्दै स्थानीय क्लबले व्यापारिक मेला आयोजना गर्न लागेको र नगरपालिकाले अनुमति दिएको भन्दै असन्तुष्टि जनाएका व्यवासायीले यस्तो घोषणा गरेका हुन् ।

भीरकोट नगर उद्योग वाणिज्य संघका अध्यक्ष नुवादत्त अर्यालका अनुसार बिहीबारदेखि स्थानीय एक क्लबले ‘बयरघारी रमाइलो मेला’ को नाममा व्यापारिक स्टल राखेर मेला आयोजना गर्न लागेको र यसले स्थानीय व्यापारीहरूलाई निरुत्साहित गर्ने र थप पीडा दिने भन्दै संघले विरोध स्वरुप कर नतिर्ने बताएका हो ।

संघले आफूहरूले राज्य पुनर्संरचनापछि व्यापारिक हकहितका लागि स्थापना कालदेखि नै नगरपालिकालाई रचनात्मक कार्यमा सहयोग गर्दै आएको स्मरण गराएको छ । संघले यसअघि दुईवटा ‘भीरकोट महोत्सव’ सफलता पूर्वक सम्पन्न गरी भीरकोट सहित स्याङ्जा जिल्ला र समग्र गण्डकी प्रदेशको पहिचान, कृषि र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याएको विज्ञप्तिमा उल्लेख छ ।

हाल देशको विषम परिस्थिति र आर्थिक शिथिलताका बाबजुद स्थानीय सरकारलाई पटक–पटक लिखित तथा मौखिक अनुरोध गर्दागर्दै, सीमित राजनैतिक दादागिरीको आडमा स्थानीय क्लबलाई व्यापारिक मेला गर्न अनुमति दिइयो विज्ञप्तिमा उल्लेख गरिएको छ ।

संघसँग कुनै सहमति नगरी यस्तो निर्णय गरिएकाले हामी यो निर्णय लिन बाध्य भएको विज्ञप्तीमा जनाइएको छ । गएको १८ गते बसेको संघको बैठकले क्लबका नाउँमा मेल ागर्ने भए कर नतिर्ने निर्णय गरेको अध्यक्ष अर्यालले जानकारी दिए ।

  • २३ आश्विन २०८२, बिहीबार १६:०५ प्रकाशित