काठमाडौं ।
गाजामा हमासले बन्धक बनाएको भनिएका नेपाली विद्यार्थी विपिन जोशी बोलिरहेको भिडिओ क्लिप्स सार्वजनिक गरिएको छ । दुई वर्षदेखि बन्धक रहेका उनको भिडियो द टाइम्स अफ इजरायलले बुधबार राति २०२३ अक्टोबर ७ का दिन किबुट्ज अलुमिममा भएको आक्रमणका क्रममा हमासले विपिन अपहरण गरेको केही समयपछि खिचेको भिडिओ भन्दै सार्वजनिक गरेको हो ।
इजरायलको रक्षा बलले बरामद गरी विपिनको परिवारलाई उपलब्ध गराएको भिडिओ २०२३ नोभेम्बरमा खिचिएको विश्वास गरिएको छ । ३३ सेकेन्डको भिडिओमा जोशी अंग्रेजीमा बोलिरहेका छन् ।
‘मेरो नाम बिपिन जोशी हो। म नेपालबाट हुँ । म २३ वर्षको भएँ। म २५ दिनअघि इजरायल आएको थिएँ। म यहाँ सिक्नुहोस् र कमाउनुहोस् कार्यक्रमका लागि आएको थिएँ, म एक विद्यार्थी हुँ’, उनी भनिरहेका छन्, ‘म सिट्रस र कागती फार्ममा कृषि फार्ममा काम गर्छु ।’
यो भिडिओसँगै उनी जीवित रहेको आशा पलाएको छ। तर त्यो भिडिओ २ वर्षअघिकै भएकाले विपिनको वर्तमान अवस्था अझै स्पष्ट छैन ।














