काठमाडौं ।
आईसीसी टी-२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटमा नेपालले विजयी सुरुआत गरेको छ । छनोटअन्तर्गत आफ्नो पहिलो खेलमा कुवेतलाई ५८ रनले पराजित गर्दै नेपालले विजयी सुरुवात गरेको हो । नेपालले दिएको १४२ रनको लक्ष्य पछ्याएको कुवेत १८ ओभर १ बलमा ८३ रनमा समेटियो । जितसँगै नेपालले अंक तालिकामा महत्वपुर्ण २ अंक जोडेको छ ।
नेपालका लागि सन्दीप लामिछाने, कप्तान रोहित पौडेल र ललित राजवंशीले समान २ विकेट लिए । सोमपाल कामी, नन्दन यादव र कुशल भुर्तेलले समान एक विकेट लिए ।
कुवेतका लागि ओपनर क्लिन्टो एन्टोले सर्वाधिक २६ रन बनाए । यासिन पटेलले १९ र मति भास्करले ११ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ६६ रनको योगदान दिए। उनले ५६ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । दीपेन्द्र सिंह ऐरीले २० रन बनाउँदा रन आउट हुन पुगे । गुल्सन झा २० रन बनाउँदा अनुदिप चेन्थामाराको बलमा बोल्ड आउट भए ।
कप्तान रोहित पौडेल १६ रन बनाउँदा क्याच आउट हुन पुगे । सन्दीप जोराले ५ र कुशल मल्ल ४ रन बनाउँदै आउट भए । सोमपाल कामी १ र नन्दन यादव २ रनमा अविजित रहे । नेपालले अन्तिम ओभरमा २ विकेट गुमाएको थियो ।
कुवेतका लागि नवीनराज राजेन्द्रनले २ विकेट लिए। मोहम्मद आकिफ फारुक, अनुदिप र मोहम्मद अस्लामले समान एक विकेट लिए ।
नेपाल रहेको समूह बी मा कुवेतसँगै जापान छन् । समूह ए मा मलेसिया, कतार र युएई छन् । समूह सी मा ओमान, पपुवा न्युगिनी र सामोआ छन् ।
एसिया एण्ड इष्ट एसिया छनोटमा सहभागी ९ टोलीलाई तीन समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोलीले सुपर सिक्समा स्थान बनाउनेछन्। सुपर सिक्सको शीर्ष ३ मा रहने टोलीले विश्वकपमा स्थान बनाउनेछन् ।
समूह चरणको दोस्रो खेलमा नेपालले शुक्रबार जापानविरुद्ध खेल्ने तालिका छ ।















