यङ्गुन ।
मध्य म्यानमारमा धार्मिक उत्सव र प्रदर्शनको क्रममा बम हमलामा कम्तीमा २४ जनाको ज्यान गएको छ । यस घटनामा अरू ४७ जना घाइते भएका छन् ।
बौद्ध उत्सवका क्रममा प्याराग्लाइडरबाट मानिसहरूको समूहमाथि सेनाले दुई वटा बम खसालेको थियो । म्यानमारको सैन्य सरकारको विरोधमा प्रदर्शन भएपछि सेनाले सोमबार साँझ सो उत्सवमा आक्रमण गरेको बताइएको छ ।
मोटराइज्ड प्याराग्लाइडरले भीडमाथि दुईवटा बम खसालिएको निर्वासनमा रहेको सरकारका प्रवक्ताले बीबीसी बर्मालाई बताएको छ । राष्ट्रिय बिदा मनाउन मध्य म्यानमारको चाउङ यू टाउनशिपमा लगभग १०० जना भेला भएका थिए । सेनाले २०२१ मा सत्ता कब्जा गरेदेखि हजारौंको मृत्यु भएको छ भने लाखौं मानिस विस्थापित भएका छन् । जसले गर्दा सशस्त्र प्रतिरोध समूह र जातीय मिलिशियासँग गृहयुद्ध सुरु भएको छ।
देशको आधाभन्दा बढी भागको नियन्त्रण गुमाएपछि सेनाले अब हवाई आक्रमण र भारी बमबारीका विशेष रक्तपातपूर्ण अभियानमार्फत नियन्त्रण हासिल गरिरहेको छ । सोमबार आक्रमण भएको टाउनशिप सागाइङ क्षेत्रमा छ । यो ठाउँ प्रमुख युद्धभूमि हो । यसको ठुलो भाग सैन्य सरकार वा जुन्टासँग लड्न कू पछि स्थापित स्वयंसेवक मिलिशियाहरूको नियन्त्रणमा छ ।














