काठमाडौं ।
हुम्लाको उच्च हिमाली भू-भागमा हिमपात शुरु भएको छ ।
सोमबार साँझदेखि हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको यारी, हिल्सा र लिमीलगायत उच्च भेगमा हिमपात भएको हो । हिमपातसँगै हिल्सामा चिसो बढेको स्थानीयले बताएका छन् । सोमबार दिउँसोदेखि हल्का वर्षा भएकामा मंगलबार बिहान झनै बढी हिमपात भएको हो। हिमपातसँगै यहाँको जनजीवन प्रभावित बनेको छ ।
त्यसैगरी सिमकोट गाउँपालिकाका उच्च क्षेत्रहरु पञ्चमुखी, रलिङ र सैपाललगायत खार्पुनाथका उच्च हिमालमासमेत हिमपात भएको छ । जिल्लाका उच्च भेगमा हिमपात भएसँगै सदरमुकाम सिमकोटसहित होचो क्षेत्रमा वर्षा भइरहेको छ ।
सदरमुकाम सिमकोटमा एक्कासी चिसो बढेको स्थानीयले बताएका छन् । चिसोका कारण विद्यालयमा विद्यार्थीहरूको उपस्थिति समेत घटेको मानसरोवर नमुना माध्यमिक विद्यालयले जनाएको हो ।
एकमात्र विमानस्थलमा समेत वर्षाले उडान अवरुद्ध भएको जनाइएको छ।















