रौतहटमा डुबेर बेपत्ता दुई बालिकाको शव फेला

केन्द्रभाग मिडिया

रौतहट ।

रौतहट जिल्लाको देवाही गोनाही नगरपालिका–६ कर्कच टोलमा डुबेर बेपत्ता भएका दुई बालिकामध्ये दुवैजनाको शव फेला परेको छ।

आइतबार दिउँसो करिब डेढ बजे खेतमा वर्षाको पानीले बनेको खाल्डो (भंगालो) मा नुहाउने क्रममा रामदयाल रामकी १२ वर्षीया छोरी आरती कुमारी राम र शिवधारी रामकी ११ वर्षीया छोरी अन्तिमा कुमारी राम डुबेर बेपत्ता भएका थिए।

घटनापछि इलाका प्रहरी कार्यालय गोनाहीका ६ जनाको टोली, सशस्त्र प्रहरी बेस क्याम्प देवाही र स्थानीयवासीले रातभर खोजतलास सञ्चालन गरेका थिए। सोही क्रममा आरती कुमारीको शव करिब २० घण्टापछि फेला पारिएको हो। यस्तै, आज बिहान अन्तिमा कुमारीको शव पनि संयुक्त सुरक्षाकर्मी र स्थानीयको सहयोगमा भेटिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएस्पी राजु कार्कीले जानकारी दिए।

इलाका प्रहरी कार्यालय गोनाहीका प्रमुख इन्स्पेक्टर कमल लुङ्गेलीका अनुसार बालिकाहरू नुहाउने स्थानभन्दा करिब १० फिट तल रहेको गहिरो खाल्डोमा डुबेका थिए। खाल्डो जलकुम्भीले ढाकिएको भएकाले उनीहरूलाई तत्काल देख्न कठिन भएको उनले बताए।

मृतक दुवै बालिकाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको प्रहरीले जनाएको छ।

डिएस्पी कार्कीले हालको अविरल वर्षाले नदी, पोखरी र खेतका भंगालोहरूमा पानी भरिँदा डुबान र डुबेर मृत्यु हुने जोखिम बढेको भन्दै अभिभावकहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्।

रौतहटमा लगातारको वर्षाले सदरमुकाम गौरसहितका गाउँ–गाउँमा डुबानको जोखिम उच्च बनेको छ र यसले जनजीवन प्रभावित पारेको छ।

  • २१ आश्विन २०८२, मंगलवार १४:४७ प्रकाशित