आरक्षण कोटाबाट २५ हजार २१८ कर्मचारीले पाए निजामतीमा स्थायी नियुक्ति

केन्द्रभाग मिडिया

काठमाडौं।

पछिल्लो १७ वर्षमा समावेशी समूहबाट २५ हजार २१८ कर्मचारीले निजामती सेवामा स्थायी नियुक्ति पाएका छन्।लोकसेवा आयोगको वार्षिक प्रतिवेदनले यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो।

वार्षिक प्रतिवेदन अनुसार आयोगले वि.सं.२०६४ सालदेखि प्रचलित कानुनमा तोकिएका समावेशी समूहका उम्मेदवारबीच प्रतिस्पर्धा गराई पदपूर्ति गर्दै आएको छ।

आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन सार्वजनिक भएको छ। जसमा २०६४ सालदेखि २०८०/०८१ को अवधिमा विभिन्न छ समावेशी समूहबाट विज्ञापन गरिएको थियो।

आर्थिक वर्ष २०८०/०८१ मा मात्रै समावेशी विज्ञापनबाट कुल १ हजार ६६ जना उम्मेदवार स्थायी नियुक्तिका लागि सिफारिस भएका छन्। जसमा महिलातर्फ ३४१, आदिवासीरजनजातितर्फ २८२, मधेशीतर्फ २४८, दलिततर्फ १०४, अपाङ्गतर्फ ४९ र पिछडिएको क्षेत्रतर्फ ४२ उम्मेदवार सिफारिस भएका छन्।

आर्थिक वर्ष २०८०/०८१ मा सबै समावेशी समूहका उम्मेदवार खुला विज्ञापनतर्फका प्रतिस्पर्धामा समेत सिफारिस भएका छन्।

पछिल्लो यो एक आर्थिक वर्ष सहित ‘विगत १७ वर्षमा सबै समावेशी समूहबाट गरी कुल २५ हजार २१८ उम्मेदवार स्थायी नियुक्तिका लागि सिफारिस भएका छन्’ आयोगको प्रतिवेदनमा उल्लेख छ।

  • १४ आश्विन २०८२, मंगलवार १२:४४ प्रकाशित