पोखरा ।
लगातार दोस्रो जितसंगै नेपालले एक खेल अगावै वेस्ट इन्डिजसँगको ऐतिहासिक टी-२०आई सिरिजको उपाधी जितेको छ । दोस्रो खेलमा वेस्ट इन्डिजलाई ९० रनको फराकिलो अन्तरले पराजित गर्दै नेपालले कीर्तिमानसहित १ खेलअगावै सिरिज जितेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १७४ रनको विशाल लक्ष्य दिएको थियो । उक्त लक्ष्य पछ्याउने क्रममा वेस्ट इन्डिज १७.१ ओभरमा अल आउट हुँदै ८३ रनमा समेटियो ।
तीन वर्षपछि क्रिकेटमा पुनरागमन गरेका मोहम्मद आदिल आलमले ४ विकेट लिए । आदिलले आफ्नो स्पेलमा मात्र २४ रन खर्चे । कुशल भुर्तेलले २ विकेट लिए । दीपेन्द्रसिंह ऐरी, करण केसी र ललित राजवंशीको नाममा समान एक विकेट रह्यो ।
नेपाल एक समय ६.४ ओभरमा ३–४३ को अवस्थामा रहेको थियो । चौथो विकेटका लागि सन्दीप जोरा र आशिफ शेखले १ सय रनको साझेदारी गरेपछि नेपाल बलियो योगफलतर्फ उन्मुख भएको थियो । ३९ बलमा ३ चौका र ५ छक्का प्रहार गरेका सन्दीप ६३ रन बनाउँदा क्याच आउट हुन पुगे ।
नेपालका तर्फबाट पूर्ण टेस्ट टोलीविरुद्ध अर्धशतक पूरा गर्ने सन्दीप दोस्रो खेलाडी हुन् । सन्दीपले ३४ बलमा ३ चौका र ३ छक्का सहयोगमा अर्धशतक पूरा गरेका थिए । राष्ट्रिय टोलीका लागि सन्दीपको यो तेस्रो अर्धशतक हो ।
नेपालका लागि ओपनर कुशल भुर्तेल २ रन बनाउँदा आउट भए । कप्तान रोहित पौडेल ३ रन बनाउँदा आउट भए । कुशल मल्ल ३ रनमा रनआउट हुन पुगे ।
गुल्सन झा ६ रनमा क्याच आउट भए । आशिफ शेख ६८ रनमा अविजित रहे । आशिफले ४७ बलमा ८ चौका र २ छक्का प्रहार गरे।
आशिफ शेखले ३४ बलमा ८ चौका सहयोगमा अर्धशतक पूरा गरेका थिए । पूर्ण टेष्ट टोलीविरुद्ध अर्धशतक पूरा गर्ने आशिफ पहिलो नेपाली खेलाडी हुन् ।
मोहम्मद आदिल आलम ५ बलमा १ चौका र १ छक्का सहयोगमा ११ रन बनाउँदा एलबीडब्लु धरापमा परे ।
वेस्ट इन्डिजका लागि अकिल हुसैन र काइल मेयर्सले समान २ विकेट लिए । जेडिया ब्लाडेसले १ विकेट आफ्नो नाममा गरे । सिरिजको तेस्रो तथा अन्तिम खेल भोलि मंगलबार हुनेछ ।















