पोखरा ।
पोखरामा र्यालीसहित विविध कार्यक्रम गरेर विश्व पर्यटन दिवश मनाइएको छ । शनिबार पोखराको अम्बोटबाट सुरु पर्यटन व्यवसायी र सरोकारवाला सम्मिलित र्याली ड्यामसाइड स्थित नेपाल पर्यटन बोर्ड गण्डकीको हलमा प्रवेश गरेसंगै अन्तरक्रिया कार्यक्रम भएको हो । पोखरा पर्यटन परिषद् र नेपाल पर्यटन बोर्ड गण्डकी कार्यालयको आयोजनामा अन्तरक्रियामा विज्ञले आफ्ना अनुभव र अबको बाटोको विषयमा आफ्नो धारणा प्रस्तुत गरे ।

अन्तरक्रियामा विज्ञले पर्यटनलाई पुनर्जीवित गर्न स्थिरता, सुरक्षा र गुणस्तरीयताको आवश्यकता रहेकोमा जोड दिए । नेपालको साहसिक पर्यटन उद्योगका अग्रणी व्यक्तित्व बेलायती नागरिक टोनी जोन्सले पर्यटन क्षेत्रमा भएका चुनौतीबारे गम्भीर विश्लेषण गर्दै स्थायित्व र गुणस्तरीय पर्यटनमा केन्द्रित हुन आह्वान गरे ।
कार्यक्रमका प्रमुख वक्ता रहेका उनले हालको अस्थिरतालाई पर्यटनको लागि ठूलो खतराका रुपमा औंल्याए । ‘मैले यसभन्दा अगाडि पनि सडकमा आक्रोश देखेको छु, तर यस्तो विनाश कहिल्यै देखेको छैन,’ आफू भर्खरै दुबइबाट नेपाल आउँदा हवाईजहाजबाटै फर्कनुपरेको घटना उल्लेख गर्दै उनले भने, ‘नेपालमा सधैं अस्थिरता हुन्छ भन्ने सन्देश विदेशी पर्यटकमाझ पुगेको छ ।’
बंगलादेशकी विज्ञ मोनिका चौधरीले नेपाल इतिहास र संस्कृतिको धनी रहेको चर्चा गरिन् । यसको उपयोग गरेर नेपाललाई धेरै नै अगाडि बढाउन सकिने उनको धारणा छ ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेले पर्यटन क्षेत्रले विभिन्न कालखण्डमा विभिन्न खालका समस्या भोगेको भएपनि यसपालीपनि विस्तारै लयमा फर्कने अपेक्षा प्रकट गरे । कार्यक्रमहरु उपलब्धिमूलक हुनुपर्ने भन्दै यसवर्षको कार्यक्रममा तामझाम भन्दा अन्तरक्रियात्मक र विज्ञका अनुभव सुनेर अगाडि बढाइएको बताए ।
पोखराका अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले निजी क्षेत्र नफस्टाउँदासम्म अर्थतन्त्र चलायमान नहुने बताए । उनले जेनजी आन्दोलनमा निजी भौतिक संरचना माथि रिस साँधिएको चर्चा गर्दैै यो ढंगले देशको समृद्धि नहुने धारणा राखे । पोखरा पर्यटन परिसदका अध्यक्ष तारानाथ पहारीले सबै सरोकारवालाकाको सहकार्यले पर्यटन क्षेत्र अगाडी बढ्ने अपेक्षा प्रकट गरे ।

पोखरा भ्रमण वर्ष २०२५ का कार्य सम्पादन समिति संयोजक गोपिबहादुर भट्टराईले सबैको सामुहिक प्रयासले मात्र पर्यटन क्षेत्रले फड्को मार्ने बताए । कार्यक्रममा पोखरा महानगरपालिका आर्थिक विकाश महाशाखाका प्रमुख मनहर कडरियाले कार्यक्रम उपयोगी रहेको भन्दै योजनावद्धढंगले आगाडि बढ्नुपर्ने धारणा राखे । पर्यटन दिवशकै अबसर पारेर शनिबार पर्यटन बसपार्कमा उत्रने यात्रुलाई स्वागत गरिएको थियो भने पुम्धि भुम्दीमा पर्वतीय दौडको आयोजना गरिएको थियो ।














