प्रचण्डको ६४ लाखको घडी र गंगाको २८ लाखको ब्यागबारे बैठकमा उठ्यो प्रश्न

केन्द्रभाग मिडिया

काठमाडौं।

नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लगाउने गरेको महँगो घडी र उनकी छोरी गंगा दाहालले बोक्ने गरेको विलासी ब्यागबारे प्रश्न उठेको छ।

केन्द्रीय सदस्य तथा सार्क इन्चार्ज लक्ष्मण पन्तले बैठकमा लिखित प्रस्ताव पेस गर्दै अध्यक्षले लगाउने ६४ लाखको रोलेक्स घडी र छोरीले बोक्ने २८ लाखको लुई भिटन ब्यागको वैधानिकता र स्रोतमाथि प्रश्न उठाएका हुन्।

नेता पन्तले पार्टीभित्रैबाट भ्रष्टाचारविरुद्धको संघर्ष थाल्नुपर्ने भन्दै पेस गरेको प्रस्तावमा यदि मिडियामा आएका समाचार गलत हुन् भने समाचार प्रकाशन गर्ने मिडिया र यसबारे संसदमा प्रश्न उठाउने नेपाली कांग्रेसका सांसद सुनील शर्माविरुद्ध समेत मानहानिको मुद्दा दायर गर्न अध्यक्षलाई चुनौती दिए।

‘लामो समयदेखि अध्यक्षको ६४ लाखको रोलेक्स घडी र उहाँकी छोरीको २८ लाखको लुई भिटन ब्यागको विषय सार्वजनिक भएको छ,’ पन्तको प्रस्तावमा भनिएको छ, ‘यदि मीडियामा आएको समाचार गलत हो भने तुरुन्तै सम्बन्धित मीडिया र सांसद सुनील शर्माविरुद्ध मानहानिको मुद्दा अध्यक्षका तर्फबाट दायर गरौं।’

 पन्तले ती सामग्री उपहारस्वरूप प्राप्त भएको भए त्यसलाई व्यक्तिगत रूपमा प्रयोग गर्नु नैतिक रूपमा गलत हुने तर्क गरेका छन्। उनले पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि प्रधानमन्त्री हुँदा प्राप्त महँगा उपहार बेचेर निजी लाभ लिएको आरोप लागेको घटना स्मरण गराउँदै नेतृत्वको जीवनशैली र पारदर्शितामाथि उठेका प्रश्नहरूको निरूपण हुनैपर्नेमा जोड दिएका छन्।

यो विषयका अतिरिक्त पन्तले आफ्नो प्रस्तावमा पार्टीका नेताहरूको सम्पत्ति छानबिन, अजय सुमार्गीको ‘हेलो नेपाल’ प्रकरणमा राज्यलाई भएको करिब २० अर्ब नोक्सानी, जनमुक्ति सेनाको ‘पीएलए फन्ड’ को २ अर्ब ८२ करोडको हिसाबकिताब र विगत १८ वर्षमा ‘मालदार’ मन्त्रालय सम्हालेका नेताहरूले आर्जन गरेको लाभको निष्पक्ष छानबिन गर्नुपर्ने मागसमेत राखेका छन्।

  • १० आश्विन २०८२, शुक्रबार १४:२० प्रकाशित