चितवन ।
पानी पर्न थालेपछि मुग्लिन–नारायणगढ सडकखण्डमा खसेको पहिरो हटाउने कार्य रोकिएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका–५ तुइन खोलामा भीर नै भासिएर सडकमा खसेपछि मंगलबार अपरान्हदेखि राजमार्ग पूर्ण अवरुद्ध छ ।
बुधबार बिहान साढे ६ बजेदेखि ४ वटा डोजररमेसिन प्रयोग गरेर पहिरो हटाउन थालिएको वर्षा हुन थालेपछि अहिले काम रोक्नु परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
सडक विभाग, ट्राफिक प्रहरी र नेपाल प्रहरीको समन्वयमा पहिरो पन्छाएर यातायात सुचारु गराउने प्रयास भइरहेपनि पहिरो खस्न नरोकिँदा समस्या भइरहेको हो ।
तुइन खोलामा ठूलो भीर नै सडकमा खसेकाले पन्छाउन समय लाग्ने देखिएको छ । राजमार्ग अवरुद्ध काठमाडौं र पोखराबाट नारायणगढतर्फ जाँदै गरेका सवारी साधन र यात्रु सडकमै अलपत्र परेका छन् ।
यस्तै नारायणगढतिरबाट काठमाडौं र पोखरातर्फ जान लागेकाहरू पनि सडकमै अलपल छन् ।दशैंका बेला काठमाडौं जोडिने मुख्य राजमार्ग नै अवरुद्ध हुँदा यात्रुले सास्ती व्यहोर्नु परिरहेको छ ।
तुइनखोलामा लगातार पहिरो खसिरहेपछि प्रहरीले यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।















