तुइन खोलाको पहिरो हटाउन दिनभर लाग्ने, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

केन्द्रभाग मिडिया

काठमाडौं ।

मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोलामा खसेको विशाल पहिरो १२ सय देखि १४ सय घनमिटर भएको अनुमान गरिएको छ ।

सडक डिभिजन भरतपुरले दिएको जानकारी अनुसार, पहिरो पन्छाउने कार्य जारी रहे पनि सडक भोलि ९असोज ९ गते० दिउँसोसम्म मात्रै सञ्चालनमा आउने अनुमान गरिएको छ ।

सडक डिभिजनका अनुसार, आज बिहान ६ बजेदेखि दुवैतर्फबाट पहिरो पन्छाउने काम सुरु भएको छ । पहिरोको परिमाण निकै ठुलो ९१२ सय देखि १४ सय घनमिटर० रहेको हुँदा सडक खुलाउन समय लाग्ने जनाएको छ । माथिबाट थप ठुलो पहिरोको सम्भावना कम रहेको भएतापनि, झर्न बाँकी रहेका साना तथा मझौला स्तरका ढुंगाहरू खस्न सक्ने सम्भावना कायमै रहेको सडक डिभिजनले जनाएको छ ।

पहिरो पन्छाउनका लागि सडक विभागका उपकरणहरू सुरक्षित रूपमा निरन्तर काम गरिरहेका छन् । यस कार्यलाई थप प्रभावकारी बनाउन कुरिनटार र भरतपुरबाट इन्धनसहितका अन्य आवश्यक उपकरण बोकेका गाडीहरू घटनास्थलमा आवतजावत गरिरहेका छन् ।

प्राकृतिक विपदको यस परिस्थितिमा सम्पूर्ण यात्रुहरूलाई धैर्य धारण गर्न सडक डिभिजन भरतपुरले विशेष अनुरोध गरेको छ । साथै, विभागका गाडीहरूलाई सहजीकरण गर्न र पहिरो सफा गर्ने कार्यमा बाधा नपुगोस् भन्नका लागि लेन अनुशासन अनिवार्य रूपमा कायम गरिदिन समेत आग्रह गरिएको छ ।

सडक डिभिजनले यात्रुहरूले प्रयोग गर्न सक्ने वैकल्पिक सडक मार्गहरूको लागि रुट नेभिगेसन लिंक उपलब्ध गराएको छ ।

  • ८ आश्विन २०८२, बुधबार ११:०४ प्रकाशित