काठमाडौं ।
भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको प्रदर्शनका क्रममा भएका गतिविधिबारे छानबिन गर्न सरकारले आयोग गठन गर्ने भएको छ।
सुशीला कार्की नेतृत्वको सरकारले यसअघि मन्त्रिपरिषदबाट जेनजी पुस्ताको प्रदर्शनका क्रममा भएका गतिविधि छानबिन गर्न आयोग बनाउने सैद्धान्तिक सहमति गरेको थियो।
आज साँझसम्म बस्ने मन्त्रिपरिषद बैठकले छानबिन आयोग गठन गर्न सक्ने प्रधानमन्त्रीनिकट स्रोतको भनाइ छ। कसको नेतृत्वमा उक्त समिति गठन हुन्छ भन्ने यकिन भइसकेको छैन। पूर्वन्यायाधीश कसैको नेतृत्वमा आयोग बनाउने तयारी छ।
भदौ २३ गते जेनजी पुस्ताको प्रदर्शनका क्रममा काठमाडौंमा मात्रै १७ जनाको ज्यान गएको थियो। अहिलेसम्म ज्यान गुमाउनेको संख्या ७४ पुगेको छ।
साथै भदौ २४ गते सर्वोच्च अदालत, सिंहदरबारलगायत सरकारी कार्यालय, नेताका निजी घरलगायतमा आगजनी भएको थियो। यी सबै घटना छानबिन गरी दोषीमाथि कारबाही गर्ने सरकारको तयारी छ।














