सारंगीको धुनमा पर्यटक लोभ्याउँदै गोरखाका गन्धर्व महिलाहरु (भिडियो)

केन्द्रभाग मिडिया

गोरखा ।

गोरखा बजारका गन्धर्व बस्तीका महिला दिदिबहिनी र आमाहरुले सारंगीको धुनसँगै नाचगान गरेर पर्यटकको स्वागत सत्कार गर्ने गरेका छन् ।

लोप हुने चिन्ता गरिएको सारंगी बाध्यबाधन सिकेर त्यहाँका गन्धर्व समूदायका महिलाहरुले अहिले त्यहाँ पुग्ने पर्यटकलाई स्वागत गर्छन् । गोरखा नगरपालिका ७ धारापानीकी ६० वर्षीय दुर्गादेवी गान्धारीले पुरानो मौलिक परम्परागत संस्कृतिलाई जोगाउन आफूहरुले काम गरिरहेको बताइन् । पाल्पामा जन्मेकी उनी आफ्नो बुबा हुमबहादुर गन्धर्वले गाएको र बजाएको देखेरै गीत गाउँन सिकेको बताउँछिन् ।

सानो उमेरमा विवाह गर्दा भोग्नुपर्ने दुःख समेटिएको गीत सुनाउँदै उनले महिलाले घरमा पाएको दुःख माइतीमा बिसाउँदा गाउने गरेको जानकारी दिइन् ।

पुरूषले मात्र बजाइरहेको सारंगी गोरखामा महिलाले मात्र बजाउँछन् र धुनसंगै गाउँछन् पनि । त्यहाँका पर्यटन व्यवसायीले पनि पर्यटकको माग अनुसार सारंगीको धुनसँगै गन्धर्व समुदायको संस्कृति पर्यटकमाझ पस्किन थालेका छन् ।

धारापनीमा सारङ्गी बजाउन जान्ने एक मात्र महिला ४१ वर्षीय भगवती गान्धारीले सारङ्गी बजाउने तालिम दिइरहेकी छिन् । उनले दिने तालिममा सबै महिला सहभागी छन् । बुवाले सारङ्गीमा औंला डुलाउँदै बजाएको देखेर आफूले पनि सिकेको र महिलाले पनि सक्छन् भनेर आफूहरुले देखाएको उनी बताउँछिन् ।

‘बुवाले सारङ्गीमा औंला चलाएको देखेर मैले सिकेकी थिएँ, यहाँ अरू दिदीबहिनीले पनि सारंगी बजाउन जानुन् भनेर तालिम दिएकी छु । गाउँमा कसैले पनि सारंगी बजाउँदैनन् । लोप भइसकेको पेशा फेरी फर्काउन लागिपरेका छौं,’ उनले भनिन् ।

  • ५ आश्विन २०८२, आईतवार ११:५३ प्रकाशित