केही साथीले चाहेको भरमा म राजीनामा दिन्नँ : मधेसका मुख्यमन्त्री सिंह

केन्द्रभाग मिडिया

जनकपुरधाम ।

मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले कुनै पनि हालतमा पदत्याग नगर्ने बताएका छन् । संविधान दिवसको अवसरमा शुक्रबार मधेस भवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कसैले चाहेर वा षड्यन्त्र गरेर राजीनामाका लागि बाध्य बनाउन नसक्ने प्रस्ट पारे ।

मुख्यमन्त्री सिंहले भने, ‘म संघीयता र संविधानको रक्षा गर्न पदमा अडिग रहेको छु । केही साथीले चाहेका भरमा म राजीनामा दिन्नँ । म सदन सामना गर्न तयार छु । संसदबाट विश्वासको मत पाउन नसकेमात्र पद छोड्छु ।’

उनले भदौ २४ गते जेनजी पुस्ताको आन्दोलनका क्रममा संघीयताले सिर्जना गरेको सम्पत्तिलाई आफ्नो कारणले क्षति नगरोस् भन्ने भावनाले सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गरेको जिकिर गरे । हाल आफू दृढतापूर्वक पदमा रहने उनको भनाइ छ ।

दश वर्षे माओवादी जनयुद्धमा भएको क्षतिको भन्दा धेरै ठुलो भौतिक संरचनाको क्षति दुई दिनको आन्दोलनमा भएको उल्लेख गर्दै मुख्यमन्त्री सिंहले अब मधेसी जनताले आफ्ना बलिदानबाट प्राप्त संघीयतालाई जोगाउन एकजुट हुनुपर्नेमा जोड दिए ।

  • ३ आश्विन २०८२, शुक्रबार १४:४९ प्रकाशित