काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ठूला भनिने दलहरुको अहंकारले देश भयानक परिस्थतिमा आइपुगेको बताएका छन् ।
संविधान दिवसको अवसरमा शुक्रबार माओवादी पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले तत्कालीन अवस्थामा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनाउन नचाहने र अहिले आफूलाई ठूला दल भन्नेको अहंकारले देश यो परिस्थतिमा आइपुगेको बताए ।
प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति या पूर्ण समानुपातिक निर्वाचन प्रणालीको पक्षमा माओवादीले निरन्तर वकालत गरेको उल्लेख गर्दै त्यसको ऐतिहासिकता जेन-जी विद्रोहले पुष्टि गरेको उल्लेख गरे ।
१० वर्षपछि फेरि एकचोटि पुनर्लेखन गरेर या संशोधन गरेर, मुख्यतः संविधान संशोधन गरेर त्यो ठाउँमा पुग्न सकिन्छ भन्ने आधार बनेको उनले बताए ।
प्रचण्डले हीनताबोधमा बाँच्नुपर्ने कुनै आवश्यकता नरहेको भन्दै देशका सबै उत्पीडित वर्ग, समुदायलाई अधिकार दिलाउने महान् काम गरेकोमा गर्व गर्नुपर्ने बताए ।
त्यस्तै प्रचण्डले संविधानसभाको नेतृत्व, सुशासनको नेतृत्व, भ्रष्टाचारविरुद्ध अभियानको नेतृत्वलाई भ्रष्टाचारी हो भनेर तुलना गर्न खोज्नु इतिहासप्रति, जनताप्रति गहिरो र ठुलो विश्वासघात हुन जाने तर्क गरे ।
उनले भाद्र २४ गते जेनजीको आन्दोलनमा घुसपैठ वा भयानक डिजाइनमा विध्वंसहरू मच्चाइएको आरोप लगाएका छन् ।प्रचण्डले अन्तरिक सरकार गठनको प्रक्रियामा गएर भएपनि संविधान बनाउने काममा राष्ट्रपतिको भूमिका प्रसंशनीय रहेको बताए।
त्यस्तै प्रधानसेनापतिको भूमिका पनि निकै सकारात्मक देखिएको उहाले बताए । प्रचण्डले घोषित मितिमा नै निर्वाचन गरि जेन(जी आन्दोलनको भावना अनुसार प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति बनाउने बाटो फेरि संवैधानिक ढङ्गले नै खुलोस् भन्ने चाहना रहेको उल्लेख गरे ।















