काठमाडौं।
अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी प्रदर्शनको क्रममा भएको विध्वंसात्मक क्रियाकलापलाई गम्भीर रूपमा अनुसन्धान गरेर कानुनी दायरामा ल्याइने बताएका छन् । बिहीबार प्रहरी प्रधान कार्यालयमा पुगेर देशभरका युनिट प्रमुखहरूलाई भर्चुअल ब्रिफिङ गर्दै अर्यालले भने– ‘विध्वंसात्मक क्रियाकलापलाई गम्भीर रूपमा अनुसन्धान गरी कानुनी दायरामा ल्याइने विश्वास दिलाउन चाहन्छु ।’
छानबिन र अनुसन्धान जाँचबुझ आयोग गठन भएपछि हुने र आयोगको निष्कर्ष अन्तिम हुने अर्यालले बताए । उनले भने– ‘जेनजीले गरेको सुरुवात भ्रष्टाचार विरुद्ध थियो, हिंसात्मक गर्ने थिएन ।’
देशभरका करिब ३ सय युनिटका इन्चार्जहरूलाई निर्देशन सम्बोधन गर्दै गृहमन्त्री अर्यालले प्रदर्शनमा घुसपैठ भएको बताए । उनले भने– ‘आन्दोलन कुशासन र भ्रष्टाचारको विरुद्धमा थियो तर, त्यसमा स्वार्थ पुरा गर्ने उद्देश्यले घुसपैठ भएको कुरा सामाजिक सञ्जालमा आएका भिडियो र क्रियाकलापले पुष्टि गरेको देखिन्छ ।’
आन्दोलन अवधिमा प्रहरीको संरचनामा गम्भीर प्रहार भएको उल्लेख गर्दै अर्यालले प्रहरीले प्रदर्शन गरेको संयमताको उच्च प्रशंसा गरे । प्रदर्शनमा अकल्पनीय क्षति हुनसक्ने पूर्व सूचना किन आएन भनेर गृहमन्त्रीले प्रहरी अधिकृतहरूलाई प्रश्न गरेका छन् । उनले भने– ‘हामीले गम्भीर रूपमा सोच्नुपर्ने अवस्था छ, पूर्व सूचना किन पाइएन रु पूर्वसूचनाको कमीले अकल्पनीय क्षति भयो ।’
प्रहरीको अनुपस्थिति र कमजोर उपस्थितिले समाजमा अराजकता मैलाउने अवस्था आउने उनले बताए ।














