जेनजी प्रर्दशनमा राष्ट्रिय वाणिज्य बैंकको सवा ५ करोड र १८ किलो सुन लुटियो

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले सुशान्त प्रधानसँगको पोडकाष्टमा प्रर्दशनका क्रममा वित्तीय क्षेत्रमा ठूलो क्षति नभएको र राष्ट्रिय वाणिज्य बैंकको सवा ५ करोड र १८ किलो सुन लुटिएको बताएका छन् । अहिले त्यो भिडियो क्लिप निकै भाइरल भएको छ ।

भदौ २४ मा प्रर्दशनकारीले बानेश्वसस्थित संसद् भवनमा आक्रमण गरेका थिए ।

सोही क्रममा संसद् भवन परिसरमै रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालयमा पनि तोडफोड तथा लुटपाट भएको छ । बैंकमा रहेको ५ करोड १५ लाख रुपैयाँ र १७ हजार ९ सय ४५ ग्राम ९करिब १८ किलो० सुन चोरी भएको बैंकले स्वीकार गरेको छ ।

बैंकका सूचना अधिकारी पवन रेग्मीका अनुसार ग्राहकको लकरमा रहेको सबै सुन सुरक्षित छ । तर, ऋण धितोमा रहेकोमध्ये १७ हजार ९ सय ४५ ग्राम सुन लुटपाट भएको हो । त्यो सुन ऋणको धितोमा रहेकाले त्यसको बिमा गरिएको पनि बैंकले बताएको छ ।

यसबाहेक वित्तीय क्षेत्रमा ठूलो क्षति नभएको गभर्नर पौडेलले सार्वजनिक रूपमै बताउँदै आएका छन् । उनका अनुसार मुलुकभर रहेका बैंक तथा वित्तीय संस्थाका ६८ वटा शाखा र एक्सटेन्सन काउन्टर, ६९ वटा एटीएममा तोडफोड तथा आगजनी भएको छ । तीमध्ये २५ शाखा कार्यालय र ४३ वटा एक्सटेन्सन काउन्टर छन् । ती शाखा तथा एक्सटेन्सन काउन्टरमा धेरै क्षतिको विवरण भने छैन । यद्यपि प्रर्दशनका क्रममा भएको क्षतिका बारेमा राष्ट्र बैंकले तथ्यांक संकलन गरिरहेको जनाएको छ ।

  • १ आश्विन २०८२, बुधबार १६:४२ प्रकाशित