काठमाडौं।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले तातोपानी नाका जोड्ने अरनिको राजमार्ग तत्काल खुलाउन सडक विभागलाई निर्देशन दिएका छन् ।
घिसिङको सचिवालयका अनुसार बुधवार भोटेकोसी गाउँपालिका–२ का वडाध्यक्ष कुमार श्रेष्ठले मन्त्री घिसिङसमक्ष तत्काल उक्त राजमार्ग खुलाउन माग गर्दै ध्यानाकर्षण पत्र बुझाएका थिए । त्यसलगत्तै मन्त्री घिसिङले विभागका महानिर्देशक विजय जैसीलाई अवरुद्ध सडक तत्काल खुलाउन निर्देशन दिएका हुन् ।
मन्त्री घिसिङको सचिवालयका अधिकारी सचिन गौतमले उक्त सडक खुलाउन विभागका महानिर्देशकलाई निर्देशन दिएको जानकारी दिए ।
दसैँ लगायतका चाडपर्व नजिकिएका बेला सडक अवरुद्ध भएपछि तातोपानी नाका बन्द भएको र सर्वसाधारणको आवागमनमा ठुलो समस्या परेको छ ।
एक महिनादेखि चीनतर्फ १५ सयभन्दा बढी कन्टेनर अलपत्र परेका छन्, जसले उद्योगी र व्यापारीहरूलाई कच्चा पदार्थ र तयारी सामान पाउन कठिनाइ भएको छ । धेरै मानिसहरू भरियाको सहयोगमा सामान ढुवानी गर्न बाध्य भएका छन् ।















