पर्वतको जलजलामा घरमै सुत्केरी हुनेको संख्या शून्य

केन्द्रभाग मिडिया

पर्वत ।

जलजला गाउँपालिकामा घरमा प्रसूति (सुत्केरी)हुनेको सङ्ख्या शून्य भएको छ ।

घरमै बच्चा जन्माउँदा आमा र बच्चाको ज्यान खतरामा पर्नुका साथै महिलाहरूमा विभिन्न समस्याले सुत्केरीपछि सताइरहने हुँदा घरमै सुत्केरी (होम डेलिभरी)हुनेको सङ्ख्या शून्य बनाइएको हो । जलजलाका स्वास्थ्य शाखा प्रमुख गणेश मल्लले आर्थिक वर्ष २०८१–८२ मा जलजलामा एक सय ६२ जनाले संस्थागत प्रसूति सेवा लिएका बताए ।

‘आर्थिक वर्ष २०८०–८१ मा ‘होम डेलिभरी’को सङ्ख्या एक थियो, आव २०८१–८२ मा शून्यमा झरेको छ । यसलाई निरन्तरता दिन्छौँ’, उनले भने । जलजलाको मल्लाज, लेकफाँट र शालिजामा रहेका प्रसूति गृहमा १६ जना सुत्केरी भएका हुन् ।

एक सय ४६ जनाले बेनी, बागलुङ, कुश्मा, पोखरालगायत ठाउँमा पुगेर प्रसूति सेवा लिएका शाखा प्रमुख मल्लले बताए। गत आवको सुरुदेखि नै सञ्चालन गरेको गर्भवतीलगायतलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउन थालेपछि घरमा जोखिम मोलेर असुरक्षित रूपमा प्रसूति हुनेको सङ्ख्या शून्यमा झार्न सहयोग पुगेको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताए ।

जोखिमयुक्त प्रसूतिका कारण हुने जोखिम न्यूनीकरण गरी बच्चा र आमाको स्वास्थ्यमा सुधार ल्याउन ‘होम डेलीभरी’लाई शून्यमा कायम राख्ने उनले प्रतिबद्धता जनाए । आठपटक गर्भ जाँच र संस्थागत प्रसूति सेवालाई प्रोत्साहन, घरमा सुत्केरी हुनेको सङ्ख्या शून्यमा झार्ने, आमा तथा बच्चाको पोषणमा सुधार ल्याउन सन्देश प्रवाह गराउने उद्देश्यले जलजला गाउँपालिकाले सुत्केरीलाई घ्यू र अण्डा उपहार दिने कार्यक्रम सञ्चालन गरेको उपाध्यक्ष दीपक आचार्यले बताए ।

  • १ आश्विन २०८२, बुधबार १२:२६ प्रकाशित