जेन-जी सहिदहरूलाई मन्त्रीले ओढाए राष्ट्रिय झन्डा, सशस्त्रले दिए सलामी

केन्द्रभाग मिडिया

पोखरा ।
जेन-जी सहिदहरूका नेपाल सरकारका मन्त्रीहरूले राष्ट्रिय झन्डा ओढाएका छन् ।

गृहमन्त्री ओमप्रकाश अर्याल र ऊर्जामन्त्री कुलमान घिसिङले पशुपति आर्यघाटमा सहिदहरूलाई राष्ट्रिय झन्डा ओढाएका हुन् ।दुवै मन्त्री शवयात्रामा पनि सहभागी भएका थिए ।

ऊर्जामन्त्री कुलमान घिसिङ गोपीकृष्णहलबाट र गृहतथा कानुनमन्त्री ओमप्रकाश अर्याल चाबहिल चोकबाट जेनजीको शवयात्रामा सहभागी भएका हुन् । कुलमानले राष्ट्रिय झण्डा बोकेका थिए भने कानुनमन्त्रीले राष्ट्रिय झण्डा ओढेका छन् ।

त्यस्तै वनकालीतर्फ हंसमण्डपबाट सशस्त्र प्रहरीले सलामी अर्पण गरेका थिए ।

त्यसअघि त्रिवि शिक्षण अस्पतालबाट महाराजगन्ज, चावहिल, गौशाला हुँदै आर्यघाटसम्म शवयात्रा निकालिएको थियो । सरकारले हिजै मृतकका परिवारलाई काजकिरियाका लागि एक लाख उपलब्ध गराउने निर्णय गरिसकेको छ ।

जेन–जीको आन्दोलनका क्रममा निधन भएकाहरुलाई सरकारले सहिद घोषणा गर्दै उनीहरूको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने भएको छ । यस्तै, उनीहरुको सम्झनामा असोज १ गते शोक दिवस मनाइने भएको छ । सोमबार साँझ मन्त्रिपरिषद्को निर्णय सुनाउँदै गृहमन्त्री ओमप्रकाश अर्यालले यसबारे जानकारी गराएका थिए ।

  • ३१ भाद्र २०८२, मंगलवार १४:२४ प्रकाशित