आजदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल खुल्यो : कुन वस्तुमा कति छुट ?

केन्द्रभाग मिडिया

काठमाडौं।

सरकारले हरेक वर्ष चाडपर्वमा सञ्चालन गर्दै आएको चाडपर्वलक्षित सुपथ मूल्य पसल आजदेखि खुलेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतका दुई व्यापार कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले देशभरका विभिन्न स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरेका हुन् ।

यी पसलबाट दैनिक उपभोग्य वस्तुमा प्रतिकिलो २ रुपैयाँदेखि १० रुपैयाँसम्म छुट दिने जनाइएको छ ।

भदौ ८ गतेको मन्त्रीस्तरको निर्णयअनुसार खाद्यले देशको ४५ जिल्लाका १११ स्थानमा र साल्ट ट्रेडिङ कर्पोरेशनले ३८ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी भएको थियो । जेनजी पुस्ताको आन्दोलनका कारण प्रभावित क्षेत्रमा भने क्रमिक रूपमा पसल सञ्चालन गरिने जनाएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यका अनुसार आजदेखि पसल सञ्चालनमा आएका छन् ।

यस्तै खाद्यले खसी–च्याङ्ग्रा बिक्री गर्नेबारे अन्योल बढेको छ । खसी–च्याङ्ग्रा बिक्रीका लागि भदौ १६ गते खाद्यले अनलाइनमार्फत् अग्रिम बुकिङ खुला गरेको थियो । करिब ४० वटाको संख्यामा खसी–च्याङ्ग्रा अर्डर आए पनि अहिलेसम्म खरिद कार्य नभएकाले बिक्री गर्ने या नगर्ने भन्नेबारे अन्योल रहेको आचार्यको भनाइ छ ।

‘खसी–च्याङ्ग्रा अनलाइन बुकिङ भइरहेको थियो तर अहिले बन्द गरिएको छ,’ उनले भने, ‘यसपाली खसी–च्याङ्ग्रा ल्याउन सकिन्छ कि सकिँदैन भन्नेबारे मन्त्रालयमा छलफल भइरहेको छ ।’

खसी–च्याङ्ग्रा ल्याउन नसकेमा अनलाइनमार्फत आएको अर्डरका क्रममा अग्रिम भुक्तानी भएको पैसा फिर्ता गरिने उनको भनाइ छ ।

सुपथ मूल्य पसलमा कुन वस्तुमा कति छुट ?

खाद्यले सञ्चालन गर्ने सुपथ मूल्य पसलमा सबै किसिमका चामलमा प्रतिकिलो ५ रुपैयाँ छुट दिइनेछ । यस्तै गहुँ दाना, चिनी, सबै किसिमका दाल र चना, भटमास, केराउसमेतका गेडागुडीमा प्रतिकिलो ५-५ रुपैयाँ छुट दिइनेछ ।

यस्तै चिउरा, आँटा, पिठो, मैदामा प्रतिकिलो ७ रुपैयाँ छुट दिइनेछ । जिरा, धनियाँ, चियापत्ती र जिउँदो खसी–बोका र च्याङ्ग्रामा प्रतिकिलो १०-१० रुपैयाँका दरले छुट दिने जनाइएको छ । तोरी, सनफ्लावर र भटमासको तेलमा प्रतिलिटर ७-७ रुपैयाँ छुट दिइनेछ । रैथाने खाद्यवस्तुमा १०-१० रुपैयाँ छुट दिने जनाइएको छ, जसमा कर्णालीको सिमी, फापर दाना, चिनो, कागुनो, उवा र जुम्ली मार्सी तथा बासमती चामल छन् ।

यस्तै साल्ट ट्रेडिङबाट सञ्चालन हुने सुपथ मूल्य पसलमा नुनमा प्रतिकिलो २ रुपैयाँ, चिनीमा प्रतिकिलो ५ रुपैयाँ, तेल, चिउरा, पिठो मैदा र दालमा प्रतिकिलो ७ रुपैयाँ छुट दिने जनाइएको छ ।

खाद्यका पसल कहाँ–कहाँ ?

खाद्य व्यवस्थाले कोशी प्रदेशमा ११ स्थानबाट सुपथ मूल्य पसल सञ्चालन गर्नेछ ।

मधेस प्रदेशमा तीन स्थानमा सुपथ मूल्य पसल सञ्चालन हुनेछ । सिरहामा मुख्य शाखा कार्यालय लहान, धनुषामा प्रादेशिक कार्यालय जनकपुर र पर्सामा शाखा कार्यालय वीरगन्जबाट सुपथ मूल्य पसल सञ्चालन गरिने जनाइएको छ ।

खाद्य व्यवस्थाले बागमती प्रदेशमा पाँच स्थानबाट सुपथ मूल्य पसल सञ्चालन गर्दैछ । जसअनुसार काठमाडौँ उपत्यकामा थापाथली, रामशाहपथ, दक्षिणकाली बिक्री केन्द्र, ललितपुरको नख्खु खाद्य गोदामबाट सुपथ मूल्य पसल सञ्चालन गरिनेछ । यसैगरी रसुवाको धुन्चेमा यस्तो पसल सञ्चालन हुनेछ ।

गण्डकी प्रदेशमा ७ स्थानबाट सुपथ मूल्य पसल सञ्चालन हुनेछ । कास्कीको बिरौटा बिक्री केन्द्र, तनहुँको विमलनगर बिक्री केन्द्र, गोरखामा शाखा कार्यालय गोरखा र डिपो कार्यालय सिर्दिबास, लमजुङको सुन्दरबाजार खरिदबिक्री केन्द्र, मनाङ शाखा कार्यालय र मुस्ताङ शाखा कार्यालयबाट सुपथ मूल्य पसल सञ्चालन हुनेछ ।

लुम्बिनी प्रदेशमा १५ स्थानमा सुपथ मूल्य पसल सञ्चालन हुनेछ ।कर्णालीका ४२ स्थानमा सुपथ मूल्य सञ्चालन गरिने भएको छ ।सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका २८ स्थानमा सुपथ मूल्य पसल सञ्चालन हुनेछ ।

  • ३० भाद्र २०८२, सोमबार १५:३१ प्रकाशित