काठमाडौं ।
जेनजीको प्रदर्शनका क्रममा मृतकहरूको राष्ट्रिय सम्मान दिएर अन्त्येष्टि गरिने भएको छ ।
नवनियुक्त गृहमन्त्री तथा कानुन न्याय तथा संसदीय मामिला मन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गर्दै प्रदर्शनका क्रममा निधन भएकाहरूलाई सहिद घोषणा गर्दै राष्ट्रिय सम्मानसहित अन्त्येष्टि हुने बताएका हुन् ।
आन्दोलनका क्रममा घाइते भएकाहरुको राज्यले निःशुल्क उपचार गर्ने र पीडित पक्षको माग सम्बोधन गरिने मन्त्री अर्यालले बताए । आन्दोलनका क्रममा गल्ती गर्नेले गल्ती महसुस गर्नुपर्ने र उद्दण्डता मच्चाउनेलाई नागरिक स्तरबाट प्रमाण जुटाएर कारबाही गरिने मन्त्री अर्यालको भनाई छ ।
यस्तै अर्यालले मृतकका परिवारलाई काजकिरियाबापत एक लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेका छन्।सोमबार पदबहाली गरेपछि मन्त्री अर्यालले भदौ २३ र २४ गतेको घटनामा मृत्यु भएकाका परिवारलाई उक्त राहत रकम दिने निर्णय गरेका हुन्।
यस्तै, राष्ट्रिय झन्डा झुकाउँदै राष्ट्रिय शोक दिवस मनाउने निर्णय भएको उनले बताए।















