व्यवसायी आचार्यको प्रश्न, ‘के जनप्रतिनिधिको परिवारमा जन्मिनु अपराध हो ?’

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा इभेन्ट सेन्टरका प्रबन्ध सञ्चालक एवं पोखराका एक सफल व्यवसायी शिवराज आचार्यले के जनप्रतिनिधिको परिवारमा जन्मिनु आपराध हो भनेर सोधेका छन् । पोखरा महानगरका प्रमुख धनराज आचार्यका भाई उनले आफूसहित पोखराका अन्य व्यवसायी मिलेर सञ्चालन गरेको पोखरा इभेन्ट सेन्टरमा जेनजी पुस्ताको प्रदर्शनका क्रममा भएको आजगनीलाई लिएर यस्तो टिप्पणी गरेका हुन् ।

आफ्नो पारिवारिक पृष्ठभूमि स्मरण गराएका उनले आफ्ना दाजु पोखरा महानगरका प्रमुख धनराज आचार्यले  ‘राजनीति पेशा होइन सेवा हो, पेशा आफ्नो छुट्टै हुनुपर्दछ’ भन्ने भनाई सहित व्यवसाय सुरु गर्दै आफूहरुलाई राजनीतिक लाभभन्दा पनि श्रम र व्यवसायतर्फ अघि बढ्न प्रेरण दिएको र त्यही प्रेरणले अगाडि बढेको बताएका छन् ।

पोखरा इभेन्ट सेन्टर पूर्व महानगर प्रमुख मानबहादुर जिसीको पालामा कानुनी प्रक्रिया पूरा गरेर नक्सा पास गरी सुरु गरिएको महत्वपूर्ण प्रोजेट हो भन्दै त्यो इभेन्ट सेन्टर, जसले सयौँलाई रोजगारी दिएकामा आगजनी गरेर सबै कुरा ध्वस्त पारिदिएको उनले उल्लेख गरे ।

भाडाको जग्गामा करोडौँ लगानी गरेर, सयौँ ब्यक्ति लाई रोजगारी दिने स्वरोजगारको थलोलाई ‘जनप्रतिनिधिको परिवार’ भन्ने बहानामा आफ्नो पसिना र श्रमलाई जलाउने लुट्ने र ध्वस्त पार्ने काम भएको बताए । यो काम आन्दोलनरत जेनजी पुस्ताले नभई अन्यले नै गरेको उनले बताए । आफू जेनजीले उठाएका मागमा ऐक्यवद्धता जाहेर गरेको व्यक्ति रहेको हुँदा जेनजीले प्रदर्शनको बहानामा खराव मनासयका साथ लुटपाट र आगनजी भएको उनले ठहर गरेका छन् ।

अनैतिक काम गर्नेहरूको कहिल्यै भलो हुँदैन । सत्य दबाउन खोजे पनि सत्य सधैं सत्य नै रहने भन्दै उनले आफूहरुको संघर्ष, श्रम र सपनाले समृद्धिलाई नै अगाडि बढ्ने हुँदा यसलाई नष्ट गर्ने, धमिलो पानीमा माछा मार्न खोज्ने केही समूहहरूको अनैतिक कामप्रति उनले खेद प्रकट गरेका छन् ।

 

 

पोखरा–३३ गैरागाउँमा एक असल शिक्षकका सन्तानका रूपमा हामी जन्मियौँ र हुर्कियौँ। हाम्रो परिवार विगत तीन दशकदेखि मेहनत, इमानदारी र पसिनाको भरमा विभिन्न पेशा–व्यवसायमा संलग्न रहँदै आएको छ। ३१ वर्षअघि मेरा दाजु धनराज आचार्य बिध्यार्थि राजनीतिमा सक्रिय भई तत्कालीन पृथ्वीनारायण क्याम्पसको सभापति भइसकेका व्यक्तित्व हुनुहुन्थ्यो। तर उहाँले “राजनीति पेशा होइन, सेवा हो” पेशा आफ्नो छुट्टै हुनुपर्दछ” भन्ने भनाई सहित ब्यबसाय सुरु गरेर हामीलाई राजनीतिक लाभभन्दा पनि श्रम र व्यवसायतर्फ अघि बढ्न प्रेरित गर्नुभयो।
त्यही बाटो पछ्याउँदै म पनि बिभिन्न ब्यबसाय मा बिगत २ दशक देखि सक्रिय रहदै आएको छु।यसै क्रममा म र मेरा पोखराकै केही उद्यमी साथिहरूले कोभिड महामारी आउनु अघिदेखि नै ठूलो सपना बोकेर पोखरा इभेन्ट सेन्टर निर्माण सुरु गर्यौँ। बैंकबाट करोडौँ ऋण लिएर, अपार विश्वास र उत्साहका साथ, पोखराको सार्वजनिक आवश्यकता पूरा गर्ने साझा थलो बनाउन जुट्यौँ। हाम्रो उद्देश्य स्पष्ट थियो—पोखरामा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका सभा, सम्मेलन र प्रदर्शनीका लागि एउटा गौरवशाली स्थान निर्माण गर्ने।
तर, आज मन भारी छ। त्यो इभेन्ट सेन्टर, जसले सयौँलाई रोजगारी दिएको थियो, जसले शहरको गर्व बन्ने बाटो समातेको थियो मेरा आँखा अगाडीनै आगजनी ध्वस्त मात्र भएन सम्पुण भाडाकुडा,ग्रोसरी सामाग्री, फ्रिजदेखि चम्चा र झाडूसम्म लुटेर लगिएको दृष्य फुटेज हामीसँग छ। मेहनत, पसिना र सपना—सबैलाई कसैले जानीजानी ध्वस्त पारिदियो।
मेरा दाजु महानगर प्रमुख बनेको तीन वर्ष भयो। उहाँ बस्दै आउनुभएको निजी घर त २० वर्षअघि नै बनेको हो। जुन आज पुर्ण रुपमा क्षति पुर्याएको र र सम्पुर्ण रुपमा लुटपाट गरिएको छ। त्यसरी नै इभेन्ट सेन्टर भने पुर्व मेयर मानबहादुर जिसिको पालामा कानुनी प्रक्रिया पूरा गरेर नक्सा पास गरी सुरु गरिएको प्रोजेक्ट हो। लिजको जग्गामा करोडौँ लगानी गरेर, सयौँ ब्यक्ति लाई रोजगारी दिने स्वरोजगारको थलो खडा गरेका थियौँ। तर आज, “जनप्रतिनिधिको परिवार” भन्ने बहानामा हाम्रो पसिना र श्रमलाई जलाइयो, लुटियो, ध्वस्त पारियो। यो काम मा कोहि पनि आन्दोलनरत जेन जि पुस्ताको भएको देखिदैन। म पनि ब्यक्तिगत रुपमा जेन जि ले उठाएका सवालमा एक्यवद्धता जाहेर गरिरहेको ब्यक्ति हुँ। तर योजनाबद्ध रुपमा यो दुखद घटना घटाईयो।
सोध्न मन छ—
के जनप्रतिनिधिको परिवारमा जन्मिनु अपराध हो?
के नियम पालना गरेर, कर तिरेर, इमानदारीपूर्वक स्वरोजगार बन्ने र अरुलाई रोजगारी दिने अधिकार हामीसँग छैन?
आज म पोखराका दाजुभाइ दिदीबहिनीहरूसामु अपिल गर्छु—हाम्रो संघर्ष, हाम्रो श्रम, हाम्रो सपना तपाईंहरुकै हो। यसलाई नष्ट गर्ने, धमिलो पानीमा माछा मार्न खोज्ने केही समूहहरूको अनैतिक कामप्रति म हृदयदेखि खेद प्रकट गर्दछु।
शिवराज आचार्य
प्रबन्ध संचालक
पोखरा ईभेन्ट सेन्टर
स्मरण रहोस्—
अनैतिक काम गर्नेहरूको कहिल्यै भलो हुँदैन।
सत्य दबाउन खोजे पनि सत्य सधैं सत्य नै रहन्छ।

 

  • २८ भाद्र २०८२, शनिबार २१:२३ प्रकाशित