पोखरा ।
नाडा अटोमोवाइल्स एसोसिएसन नेपालका निवर्तमान अध्यक्ष एवं पोखराका सफल व्यवसायी ध्रुव थापाले आफूले गरेको ३५ वर्षको मेहनत र बगाएको पसिनाले बनाएको घर र सम्पत्ति खरानी पारिएपनि आफू थप उत्साहका साथ माथि उठ्ने प्रण गरेका छन् ।
शुक्रबार विहान समाजिक सञ्जाल फेसबुकमा उनले आफ्नो जलाइएको घरको भिडियो पोष्ट गर्दै यस्तो प्रण गरेका हुन् । उनले आफू कुनै राजनीतिक मान्छे नरहेको र कुनै भ्रष्ट वा तस्कर नरहेको भन्दै अनेकौं अबरोध र जोखिम मोलेर कमाएको सम्पत्ति जलाउनेलाई कारबाहीको माग समेत गरेका छन् । नयाँ बजारमा रहेको थापाको घर जेनजी समूहले गरेको प्रदर्शनको क्रममा आगजनीमा परेको हो । घरसंगै उनको त्यहाँ सञ्चालनमा रहेका व्यवसाय खरानी भएको छ भने एक जना कामदारको समेत भित्रै जलेर ज्यान गुमेको छ ।
‘..घरमा मान्छे छन भने जानकारी हुँदाहुँदै तलबाट आगो लगाउने काम जेनजीले गरेका हुन् वा त्यहाँभित्र अरु नै कोही थिए समयक्रमले बताउँदै जाला तर जोसुकै हुन् ति क्रुर अपराधीहरु भोलिका दिनमा कुनै राजनीतिक खोल ओडेर उम्किन नपाउन’ उनले लेखेका छन् ।
अहिलेको आन्दोलनमा आफ्नो दाजु बिन्दु थापासँग आफूलाई जोडिएको भन्दै उनले दाई राजनीतिमा आउनु अगाडि नै सफल व्यवसायी रहेको स्मरण गराएका छन् । उनले राजनीतिमा लागेर सेवा गर्छु भनेर हिँड्नु र राजनीति गर्नु नै अपराध हो ? भन्दै प्रश्न समेत गरेका छन् । दाजु विन्दु थापाको लोकप्रियता देखेर इमेज ड्यामेज गराएर राजनीतिक अभिष्ट पूरा गर्न खोज्नेहरुले रचेको अभिष्टको रुपमा उनले उल्लेख गरेका छन् । ‘उहाँ (विन्दु थापा) राजनीतिमा लाग्नुभन्दा धेरै पहिला देखि नै पोखराको एक सफल व्यवसायीको रुपमा चिनिनुहुन्थ्यो । अनि अर्को कुरा उहाँलाई भ्रष्टाचार गरेको र भ्रष्टाचारबाट प्राप्त रकम उहाँको छोराहरुले मोजमस्ती गरेको भनेर जुन प्रकारले सोसल मिडियामा सयौँको संख्यामा फेक आइडी बनाएर देखाइयो त्यो बिल्कुल निराधार र कपोलकल्पित छ ।
उहाँको बढ्दो लोकप्रियता देखेर उहाँको इमेज ड्यामेज गराई राजनीतिक अभिष्ट पूरा गर्न रचिएको योजना हो त्यो । हुन त यो क्षेत्रका आम जनताले राम्रोसँग बुझेका छन् उहाँको बारेमा । एउटा महत्वपूर्ण कुरा के भने, हामीहरूको परिवार अहिले मात्र होइन पुर्खादेखि नै जनताको पैसा भ्रष्टाचार गरेर कमाउनुपर्ने अवस्थामा छैनौँ’ उनले लेखेका छन् ।
व्यवसायी थापाले जलेको घरको आगोसंगै आफ्नो उत्साह पनि जलेर खरानी भएको र नेपालमै बसेर व्यवसाय गर्नु गल्ती गरिएछ कि भन्ने लागेको समेत बताएका छन् । ‘..जलेको घरको आगोसँगै मेरा ति सबै उत्साह पनि जलेर खरानी भइरहेका छन । जलेर खण्डहर भएको घर हेर्दा नेपालमा बसेर व्यवसाय गर्नु नै गल्ती गरिएछ कि भन्ने लागिरहेछ। मेरा बुवा बाजेहरूले आर्जेको जग्गामा बनाइएको यो घरसँग मेरो ३५ वर्षदेखिको मेहनत र पसिना जोडिएको थियो तर एकैछिनमा सबै खरानी बनाइदिए ।’
थापाले यो अत्यन्त पीडादायी क्षणहरूमा आफूहरुप्रति सहानुभूति प्रकट गर्दै आत्मबल कायम राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने सबैप्रति प्रति आभार प्रकट गरेका छन् । उनले उत्प्रेरणाका वचनहरूले पहिले भन्दा पनि अझै सशक्त भएर अगाडि बढ्ने हौसला मिलेको उल्लेख गरेका छन् ।
………….
म कुनै राजनीतिक मान्छे थिइन। न कुनै भ्रष्ट वा तस्कर। १७ वर्षको उमेरदेखि कलेज पढ्दै उद्यम गर्न सुरु गरेको थिएँ। कति आरोह अवरोह र जोखिम मोलेर यो स्थितिमा आइपुगेको अवस्था हो। आफूले मात्रै उद्यम व्यवसाय गरिन् अरु धेरैलाई पनि सिकाएं।नेपालमै उद्यम गर्नुपर्छ। नेपालमै सम्भावना धेरै छ भन्दै अभिप्रेरित गर्दै आएको छु। आफूले उद्धम व्यवसायबाट केही कमाउँदा समाजको लागि पनि योगदान गरिरहेको छु। युवा उमेर देखि नै सामाजिक र मानवीय सेवामा लागिरहेको छु। म मात्र होइन हामी हामी दम्पति नै लागिरहेका छौं। ७२ सालको भूकम्पको बेला होस् वा कोभिडको समयमा, थुप्रै सङ्ख्यामा एम्बुलेन्सहरु आयात गरेर विभिन्न संघसंस्थाहरूलाई निशुल्क प्रदान गर्यौ। जुन आजका दिनसम्म पनि नेपालका विभिन्न स्थानमा सेवा पुर्याइरहेका छन्। हामी दम्पतिले विभिन्न सामाजिक संघसंस्थाहरू मार्फत पनि देश र समाजलाई दुःख पर्दा आफ्नो व्यापार व्यवसाय छोडेर पनि मानवीय सेवाका लागि पहिलो प्राथमिकतामा राखेर योगदान गर्दै आएका छौं। आजका दिनसम्म आफूले जानेर बुझेर कुनै गलत कार्य गरेको जस्तो लाग्दैन तर यस्तो गरिरहँदा पनि आज आफू बस्ने घर अफिस जलाईदा मन पनि जल्दो रहेछ। जलेको घरको आगोसँगै मेरा ति सबै उत्साह पनि जलेर खरानी भइरहेका छन। जलेर खण्डहर भएको घर हेर्दा नेपालमा बसेर व्यवसाय गर्नु नै गल्ती गरिएछ कि भन्ने लागिरहेछ। मेरा बुवा बाजेहरूले आर्जेको जग्गामा बनाइएको यो घरसँग मेरो ३५ वर्षदेखिको मेहनत र पसिना जोडिएको थियो तर एकैछिनमा सबै खरानी बनाइदिए।
सम्पत्ति घर गुमाउनु को पीडा त एकातिर छँदै थियो त्यो पीडा भन्दा पनि धेरै पीडा हाम्रो परिवार कै सदस्य भएर बसेकी घरको काम गर्ने बहिनीलाई गुमाउनु पर्दा भइरहेको छ। घटना हुनु केही क्षण अघि मात्रै हामी सबै परिवारलाई खाना बनाएर खुवाएकी ती बहिनी एकछिनमै बर्बरतापूर्वक जिउँदै आगोमा जलाएर मारिन्छिन् भनेर कल्पना पनि नगरेको विवत्स घटना व्यहोर्नु परेको छ। घरमा मान्छे छन भने जानकारी हुँदाहुँदै तलबाट आगो लगाउने काम GenZ ले गरेका हुन् वा त्यहाँ भित्र अरु नै कोही थिए समयक्रमले बताउँदै जाला तर जोसुकै हुन् ति क्रुर अपराधीहरु भोलिका दिनमा कुनै राजनीतिक खोल ओडेर उम्किन नपाउन।
अहिलेको आन्दोलनमा मेरो दाजु बिन्दु थापासँग मलाई जोडिएको छ। दाई राजनीतिमा हुनुहुन्छ। उहाँ व्यवसायमा सफल भएपछि राजनीतिमा लागेर सेवा गर्छु भनेर हिँड्नुभयो। के राजनीति गर्नु नै अपराध हो? उहाँ राजनीतिमा लाग्नुभन्दा धेरै पहिला देखि नै पोखराको एक सफल व्यवसायीको रुपमा चिनिनुहुन्थ्यो। अनि अर्को कुरा उहाँलाई भ्रष्टाचार गरेको र भ्रष्टाचारबाट प्राप्त रकम उहाँको छोराहरुले मोजमस्ती गरेको भनेर जुन प्रकारले सोसल मिडियामा सयौँको सङ्ख्यामा फेक आइडी बनाएर देखाइयो त्यो बिल्कुल निराधार र कपोलकल्पित छ। उहाँको बढ्दो लोकप्रियता देखेर उहाँको इमेज ड्यामेज गराई राजनीतिक अभिष्ट पूरा गर्न रचिएको योजना हो त्यो। हुन त यो क्षेत्रका आम जनताले राम्रोसँग बुझेका छन् उहाँको बारेमा। एउटा महत्वपूर्ण कुरा के भने, हामीहरूको परिवार अहिले मात्र होइन पुर्खादेखि नै जनताको पैसा भ्रष्टाचार गरेर कमाउनुपर्ने अवस्थामा छैनौँ। यो देश निर्माण गर्न हाम्रो पुर्खाको पनि महत्वपूर्ण योगदान छ। उनीहरूकै सन्तान हौं हामी। यसैले हामीलाई यो देशको अझ बढी माया छ। मेरो दाजुले पनि विगत देखि नै सांसद र मन्त्री हुँदा प्राप्त गरेको सम्पूर्ण तलब भत्ता समेत सामाजिक कामका लागि डोनेसन गर्दै आउनुभएको छ। उहाँ नेपालमा भएका एकदमै कम मात्र स्वच्छ छवि भएका राजनीतिक नेतामध्ये मध्ये एक हुनुहुन्छ। जसले आफूसँग भएको सम्पूर्ण चल अचल सम्पत्ति पारदर्शिताका साथ सबै जनताका सामु राखिदिनुभएको छ। भ्रष्टाचार गरेको भए वा पछि गर्ने योजना भएको भए कसैले यस्तो गर्थ्यो होला र ?
यो अत्यन्त पीडादायी क्षणहरूमा हामीप्रति सहानुभूति प्रकट गर्दै हाम्रो आत्मबल कायम राख्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहनुभएका सम्पूर्ण महानुभावहरु प्रति हृदयदेखि नै आभार प्रकट गर्दछु। यहाँहरूले प्रदान गर्नुभएको उत्प्रेरणाका वचनहरूले हामीलाई पहिलेको भन्दा पनि अझै सशक्त भएर अगाडि बढ्ने हौसला मिलेको छ।
२७ भाद्र २०८२, शुक्रबार १२:५३ प्रकाशित