पोखरा ।
राष्ट्रपतिको कार्यालय शीतल निवासमा बिहीबार रातभर भएको जेनजी प्रतिनिधिसहितको वार्तामा अन्तरिम प्रधानमन्त्री पूर्वप्रधानन्यायाधीश कार्कीलाई बनाउन सर्वपक्षीय समझदारी बनेको छ । यससंगै प्रथम महिला प्रधानन्यायाधीसको इतिहास रचेर सफल कार्यकाल विताएकी सुशीला कार्की प्रथम महिला प्रधानमन्त्री समेत बन्ने भएकी छन् ।
अन्तरिम सरकारको प्रमुख पूर्वप्रधानन्यायाधीश सुशीला कार्की बनाउने लगभग पक्का भएसँगै मुलुकले पहिलोपटक महिला प्रधानमन्त्री पाउने भएको हो । नेपालमा महिला राष्ट्रपतिको रेकर्ड भने विद्यादेवी भण्डारीले बनाइसकेकी छन् ।
यद्यपि संसद् विघटनको विषयमा कुरा अड्किँदा निष्कर्षमा पुग्न भने बाँकी छ । यसका लागि राष्ट्रपति रामचन्द्र पौडेलले आज पुन: जेनजीसहित सरोकारवाला पक्षसँग वार्ता गर्दै छन् ।
कार्कीलाई अन्तरिम सरकारको नेतृत्व प्रदान गर्न जेनजी प्रतिनिधि, जेनजीसँग निकट देखिएका काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन), नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलबीच पनि समझदारी बनेको हो ।
तर संसद् विघटन गरिनुपर्ने जेनजीहरूको मागमा भने राष्ट्रपतिले निर्णय दिन नसकेकाले आज पुनः वार्ता गर्न लागिएको हो ।
जारी छलफलमा संसद् रहेकै अवस्थामा गैरसांसद कार्कीलाई प्रधानमन्त्री बनाउने बाटो संविधानले नदिएको तर्क गरिएकाले निष्कर्षमा पुग्न कठिन भएको हो ।














