त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको उडान नियमित, यात्रुलाई राहत

केन्द्रभाग मिडिया

काठमाडौं ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको हवाई उडान नियमित रुपमा सञ्चालन भइरहेको छ ।

विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेका अनुसार बुधबार साँझदेखिनै विमानस्थलको उडान नियमित रुपमा सञ्चालन भइरहेको छ । “विगतका दिनहरुमा जस्तै आन्तरिक र अन्तरराष्ट्रिय उडान सामान्य रुपमा सञ्चालन भइरहेको छ । यात्रु आवागमनलाई सहज तुल्याउन सुरक्षा निकायसँग समन्वय गरिएको छ”, उनले भने।

विमानस्थलको हालको उडान तालिका भन्दा उडान थप्नसक्ने अवस्था नरहेको र विगतकै क्षमतामा हवाई उडान नियमित गरिने विमानस्थलले जनाएको छ ।

काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी रहेकाले हवाई यात्रुलाई परिचय खुल्ने कागजातका आधारमा आवतजावतमा सहजीकरण गरिएको छ । नेपाल पर्यटन बोर्डले सटल बसको व्यवस्था गरी विदेशी पर्यटकलाई गन्तव्यमा पुर्‍याइने जनाएको छ । यता वायुसेवा कम्पनीले पनि आफ्ना यात्रुलाई विभिन्न व्यवस्था गरेर गन्तव्य लगिरहेको विमानस्थलले जनाएको छ ।

निजी क्षेत्रका हवाई कम्पनी बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार आज बिहानदेखि नियमित रुपमा उडानहरु भइरहेका छन् । काठमाडौँ र बाहिरका गन्तव्यमा दुई तीन दिनदेखि रोकिएका यात्रुलाई लैजानुपर्नेछ ।

रासस

  • २६ भाद्र २०८२, बिहीबार १३:०० प्रकाशित