सरकार स्वार्थ समूहको सेवामा केन्द्रित हुँदा जनआक्रोसले यो रुप लियो : प्रचण्ड

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो धारणा सार्वजनिक गरेका छन् । आज एक विज्ञप्ति जारी गर्दै उनले आफ्नो धारणा सार्वजनिक गरेका हुन् । उनले स्वार्थ समूहहरूको सेवामा गठबन्धन सरकार तल्लीन भएकै कारण जनताको आक्रोशले चरम रूप लिएको उल्लेख गरेका छन् ।

उनले भनेका छन्– ‘सुशासनको डरले आजभन्दा १४ महिनाअघि कांग्रेस र एमालेले मध्यरातमा सुरु गरेको असंवैधानिक र अप्राकृतिक गठबन्धनको पटाक्षेप दुःखद रुपमा तपाई हाम्रासामु देखिएको छ । भ्रष्टाचारविरुद्ध सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा मेरो नेतृत्वको सरकारले चालेका कदमबाट अत्तालिएका स्वार्थ समूहहरूको सेवामा गठबन्धन सरकार तल्लीन भएकै कारण जनताको आक्रोशले चरम रूप लियो ।’

जेन जी पुस्ताका युवाहरूको आवाजलाई बर्बर तरिकाले कुल्चिन सरकारले भयानक नरसंहार मच्चाएको उनको आरोप छ । ‘सामाजिक सञ्जाल प्रतिबन्ध तथा भ्रष्टाचारविरुद्ध जेनजी पुस्ताले सुरु गरेको आन्दोलन सही थियो तर त्यसमाथि सरकारले पहिलो दिनमै बर्बर दमन र नरसम्हार मच्चायो’ प्रचण्डले भने ।

केपी ओली नेतृत्वमा सरकार गठनपछि विश्वासको मत लिने क्रममा आफूले संसद्को रोष्टमबाट गठबन्धनको सरकार जुन उदेश्यले बनाइयो, सरकारकै कारण अहिलेको जस्तो अवस्था आउन सक्नेतर्फ सचेत गराएको प्रचण्डले स्मरण गराएका छन् ।

सरकारलाई सदन र सार्वजनिक कार्यक्रमहरूमा लगातार कठोर आत्मसमीक्षासहित सच्चिन बारम्बार आग्रह गरे पनि कुशासनका शृङ्खला जारी नै रहेको कारण जनतामा वितृष्णा फैलिएको उनको आरोप छ ।

  • २६ भाद्र २०८२, बिहीबार ११:३४ प्रकाशित