पोखराको शहिदचोक र प्रदेशसभा भवन आसपासका क्षेत्रमा कर्फ्यु

केन्द्रभाग मिडिया

पोखरा ।

कास्कीमा पनि आज बिहानैदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले मंगलबार बिहान साढे ८ बजेदेखि अर्को आदेश नभएसम्म पोखरा महानगरपालिका क्षेत्रभित्र चार किल्ला तोकेर कर्फ्यु आदेश जारी गरेकी हुन् ।

सामाजिक सञ्जालमा गरिएको प्रतिबन्ध, भ्रष्टाचार र बेथितिविरुद्ध जेनजीले सोमबार गरेको प्रदर्शनको क्रममा प्रहरीले चलाएको गोली लागेर संघीय राजधानी काठमाडौंमा १७ र इटहरीमा २ गरि १९ जनाको ज्यान गएको छ भने सयौँ घाइते भएका छन् । पोखरामा प्रदर्शनका क्रममा तीन जना घाइते भएका छन् ।

सरकारी दमनको बिरोधमा हुनसक्ने प्रदर्शनलाई रोक्नको लागि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो । स्थानीय प्रशासन ऐन- २०२८ को दफा ६ उपदफा (३क) बमोजिम कर्फ्यु आदेश जारी गरिएको सूचनामा उल्लेख छ ।

कर्फ्यु अवधिभरि आवतजावत गर्न, ५ जना भन्दा बढी भेला हुन, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउन जस्ता क्रियाकलाप गर्न नपाइने सूचनामा उल्लेख छ ।

सूचना अनुसार शहिदचोक आसपासका क्षेत्रहरु पूर्व तर्फ वाई चोक, उत्तर पूर्व तर्फ मिलनचोक, पश्चिम तर्फ फिस्टेल गेट (वैदाम), उत्तर तर्फ मालपोत कार्यालय, कास्की, दक्षिण तर्फ राष्ट्रबैंक चोक, दक्षिण पश्चिम तर्फ पर्यटन वोर्डको कार्यालय अगाडी (ड्यामसाइड) सम्म कर्फ्यु आदेश जारी गरिएको छ ।

त्यसैगरी गण्डकी प्रदेश सभा आसपासको क्षेत्रहरु उत्तर तर्फ भिमकाली पाटन बगर, दक्षिण तर्फ अधिकारी टोल, पूर्व तर्फ नदीपुर हाइवे, पश्चिम तर्फ बागबजार ट्याक्सीचोकसम्म कर्फ्यु जारी गरिएको हो ।

  • २४ भाद्र २०८२, मंगलवार ०९:१२ प्रकाशित