पोखरामा पनि बिहान देखि जेनजीको प्रदर्शन : ओली विरुद्ध नाराबाजी

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरामा पनि जेनजी पुस्ताले आज प्रदर्शन गरेका छन्। सन् १९९७ देखि २०१२ भित्र जन्मिएकाहरुलाई जेनजी पुस्ता पर्दछन् ।
देशमा बढिरहेको भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरूद्ध आक्रोशित जेनजीले आज पोखरा सभागृह अगाडि प्रदर्शन गरेका हुन्।

भ्रष्टाचार विरोधी नारा लेखिएको प्लाकार्ड लिएर उनीहरूले प्रधानमन्त्री केपी ओलीविरूद्ध नाराबाजी पनि गरेका छन्।‘मान्छे बेच्न पाइँदैन, भ्रष्टाचार मुर्दावाद, केपी ओली मुर्दावाद’ नारा लगाएका हुन्।

विभिन्न कलेज र स्कुलका विधार्थी पनि प्रदर्शनमा सहभागी छन्।सामाजिक सञ्जाल बन्द हुँदा धेरैको व्यवसाय ठप्प हुनुका साथै रोजिरोटी गुमेको जेनजीको प्रदर्शनमा आएकाहरूको गुनासो छ ।

देश विदेशमा रहेका आफन्तसँग कुराकानी गर्नसमेत नपाएको भन्दै उनीहरुले नेताहरूले भ्रष्टाचार ढाकछोप गर्न सामाजिक सञ्जाल बन्द गराएको आरोप लगाएका छन्।

भ्रष्टाचारविरूद्ध अब नयाँ पुस्ता आन्दोलनमा आउनुको विकल्प नभएको उनीहरूले बताएका छन्।उता काठमाडौंको माइतीघर मण्डलमा पनि आज बिहान ९ बजेदेखि जेनजीले प्रदर्शन गरिरहेका छन्।

  • २३ भाद्र २०८२, सोमबार ११:०५ प्रकाशित