एमाले महाधिवेशन प्रतिनिधि : संस्थापन पक्षको प्रस्तावमा ९९ प्रतिशत

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा पार्टीको संस्थापन पक्षको प्रस्तावमा ९९ प्रतिशत प्रतिनिधिले समर्थन जनाएका छन् ।

ललितपुरको गोदावरीमा जारी महाधिवेशनको पहिलो दिन प्रस्तुत, राजनीतिक, साङ्गठनिक र विधान संशोधन प्रस्तावमाथि दोस्रो दिनको समूहगत छलफलमा २५ जनाले मात्रै संस्थापन पक्षले अघि सारेको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णयको विपक्षमा आफ्ना विचार राखेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

महाधिवेशनका दुई हजार ३२१ प्रतिनिधिमध्ये निकै थोरै अर्थात् १ प्रतिशतले मात्रै त्यसतर्फ आफ्ना भनाइ खुलेर राखेको गौतमले बताए ।

बन्द सत्रको दोस्रो दिनको छलफलमा ३१६ जना प्रतिनिधि भएको कोशी प्रदेशबाट ५० जनाले प्रत्यक्ष रूपमा आफ्ना धारणा राखेको एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिए । छलफलमा २५ जनाले लिखित रूपमा प्रतिवेदनमाथि सुझाव राखेको उनको भनाइ छ ।

लिखित र मौखिक रूपमा धारणा राख्ने ७५ जनामध्ये केन्द्रीय सदस्य युवराज बास्कोटा र केन्द्रीय सल्लाहकार परिषद् सदस्य तारादेवी राईले पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यतालाई नवीकरण गर्नुपर्ने तर्क गरेको खतिवडाको भनाइ छ ।

  • २२ भाद्र २०८२, आईतवार १३:३० प्रकाशित