सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध आजपाले पोखरामा प्रदर्शन गर्दै

केन्द्रभाग मिडिया

पोखरा ।

आम जनता पार्टी (आजपा)ले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध आज पोखरामा विरोध प्रदर्शन गर्ने भएको छ । पोखराको रानीपौवा स्थित तमु भवनमा शनिबार सम्पन्न आजपाको कास्की जिल्ला भेलाले आइतबार प्रदर्शन गर्ने निर्णय गरेको हो ।

भेलामा सहअध्यक्ष एवं संविधान सभाका सदस्य तिलक थापामगरले दलाल दलतन्त्रविरुद्धको तेस्रो जनआन्दोलनको तयारीमा जुटन आह्वान गरेका छन् । गणतन्त्रको नाममा मुलुकमा दलहरूको लुट, भ्रष्टाचार, कुशासन, अनियमितता बढ्दै गइरहेको बताउँदै उनले तेस्रो जनआन्दोलनको विकल्प नभएको बताए ।

थापाले सामाजिक सञ्जाललाई बन्द गर्ने सरकारको निर्णय अलोकतान्त्रिक, असंवैधानिक, अदूरदर्शी एवं आपत्तिजनक रहेको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सामाजिक सञ्जाल बन्द गरेर संविधानले प्रदान गरेको अभिव्यक्तिको स्वतन्त्रता, प्रेस स्वतन्त्रता, सूचनाको अधिकार, सङ्गठित हुने अधिकारको समेत उलङ्घन गरेको आजपा सहअध्यक्ष थापाले बताए ।

नेपाली कांग्रेस र नेकपा एमालेको अप्रजातान्त्रिक, अप्राकृतिक एवं अनैतिक गठबन्धनको सरकारको अलोकतान्त्रिक कार्यको जनस्तरबाटै विरोध हुन थालेको उनले बताए । यस्तै उनले रौतहटको मौलापुर नगरपालिकामा भइरहेको विकास मोडेल अनुसार पोखरालाई पनि विकासको कार्यमा अगाडी बढाउनुपर्ने आवश्यक रहेको बताए ।

आजपा गण्डकी प्रदेश कमिटीका अध्यक्ष भोजराज त्रिपाठीले फेवा तालको सार्वजनिक जग्गा अतिक्रमण गर्नेलाई सरकारले कारबाही नगरी संरक्षण गरिरहेको आरोप समेत लगाए । भ्रष्टाचार, अनियमितता बढ्दै गइरहेको अहिलेको अवस्थामा चुप लागेर बस्न नसकिने उनले बताए ।

  • २२ भाद्र २०८२, आईतवार ११:३२ प्रकाशित