मकवानपुरमा आगलागीबाट २ करोडको क्षति, घरधनी घाइते

केन्द्रभाग मिडिया

काठमाडौं ।

मकवानपुरमा आगलागी हुँदै झन्डै २ करोड बराबरको क्षति भएको छ ।मकवानपुरको बकैया गाउँपालिका(५ गरगरे स्थित लिलाराम जिम्बाको किराना पसलमा शुक्रबार बिहान आगलागी भएको हो ।

आगो निभाउने क्रममा घरधनी ४५ वर्षीय लिलाराम जिम्बा घाइते भएका छन् । घाइते जिम्बालाई थप उपचारका लागि हेटौंडाबाट काठमाडौंको कीर्तिपुरस्थित अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

घर धनीका अनुसार घर अगाडि बालेको दियोमा अचानक पेट्रोलको ड्रम पल्टिन जाँदा आगलागी भएको खुल्न आएको प्रहरीले जनाएको छ ।

आगलागीबाट दुई तल्ले पक्की घर पूर्ण रूपमा जलेर क्षति भएको छ । यसैगरी नगद १५ लाख, ३० थान ग्यास सिलिन्डर, २ वटा मोटरसाइकल, खाद्यान्न, अन्नपात, लत्ता कपडा, फर्निचर लगायत सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

बिहान करिब ७:४५ बजे लागेको आगो बिहान ९:४० मात्रै नियन्त्रणमा आएको हो ।

  • २० भाद्र २०८२, शुक्रबार १४:४३ प्रकाशित