पोखरा ।
मित्रराष्ट्र जापानको क्योटोमा अवस्थित रित्सुमेइकान विश्वविद्यालयका प्रोफेसर डा।मीवा हिरोनो नेतृत्वको टोलीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग भेटघाट गरेको छ ।
शुक्रबार भएको भेटमा प्रोफेसर हिरोनो सहित विश्वविद्यालयमा लैङ्गीक समानता, कृषी, पर्यटन र फोहोर व्यवस्थापन लगायत विषयहरुमा अध्ययन गरिरहेका ८ जना विद्यार्थीहरुले समग्र विषयमा पोखरा महानगरपालिकाले अपनाईरहेको नविन अभ्यासका विषयमा चासो राखेका छन् ।
आफ्नो अध्ययनका क्रममा यहाँको अवस्थाका बारेमा अनुसन्धानमुलक कार्यका लागि पोखरा आइपुगेका उनिहरुले पर्यटकीय राजधानी पोखराको पर्यटन विकास र फोहोर व्यवस्थापनका सम्बन्धमा थप चासो देखाएका थिए । उनिहरुले नगर प्रमुख आचार्यसँग पर्यटन र वेष्ट म्यानेजमेन्टका सन्दर्भमा जिज्ञासा राखेका छन् ।

नगर प्रमुख आचार्यले पोखरेली पर्यटनको प्रर्वद्धन विकास र प्रचारप्रसारका लागि महानगरको तर्फबाट थुप्रै पहलहरु गरिरहेको बताए । संसारमा विरलै हुने पर्यटन राजधानी घोषणाको एउटा महत्वपूर्ण खुड्कीलो पार गरिसकेपछि पोखरालाई अन्तराष्ट्रिय बजारमा प्रचारप्रसार र प्रवद्र्धन गर्नका विभिन्न अभियानहरु सञ्चालन गरिरहेको उनले बताए।
पोखरा भ्रमण वर्ष नै घोषणा गरी यसवर्ष आफुहरुले संसारभरीका पर्यटकहरुलाई पोखरा आह्वान गरिरहेको उनले बताए । फोहोर व्यवस्थापनका सन्दर्भमा दिगो समाधान गर्ने गरी अत्याधुनिक फोहोर प्रशोधन केन्द्र निर्माण गर्न आवश्यक प्रक्रिया पूरा गरेर सम्झौताको चरणमा रहेको बताए।

मानविकी, समाजशास्त्र, अन्तराष्ट्रिय सम्बन्ध, विज्ञान तथा प्रविधि, व्यवस्थापन लगायतका विविध विषयहरूको अध्ययापन गराइरहेको विश्वविद्यालय अनुसन्धान, नवप्रवर्तन र अन्तराष्ट्रियकरणमा उच्च स्तरको मान्यता पाएको जापानको पहिलो विश्वविद्यालय हो ।















