राष्ट्रियसभा बैठक स्थगित, भोलि दिउँसो बस्ने

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

आइतबार राष्ट्रियसभामा संघीय निजामती सेवा विधेयकको प्रतिवेदन पेश गर्ने कार्यसूची थियो । तर, राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले विधेयक पास नै गर्न सकेन ।

त्यसपछि सोमबारको कार्यसूची नै प्रभावित भयो । सभाध्यक्ष नारायण दाहालले निजामती सेवा विधेयकको प्रतिवेदन पेश गर्ने विषय कार्यसूचीबाट हटाइएको जानकारी दिए ।

सोमबार पेश हुन नसकेको विधेयकको प्रतिवेदन मंगलबार सभामा अगाडि बढाउने तयारी रहेको छ । यसका लागि भोलि दिउँसो सवा १ बजेका लागि राष्ट्रियसभाको बैठक राखिएको छ ।

विधायन व्यवस्थापन समितिको सचिवालयका अनुसार राष्ट्रियसभाले निजामती सेवा विधेयक पारित गर्नुपर्ने समयाअवधि भोलि नै अन्तिम दिन हो । किनभने, प्रतिनिधिसभाबाट पास भएर प्राप्त भएको विधेयक राष्ट्रियसभाले दुई महिनाभित्र पास गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।

संविधानको धारा १११ को उपधारा ५ मा यस्तो व्यवस्था छ । जहाँ भनिएको छ, ‘ प्रतिनिधिसभाले पारित गरी राष्ट्रियसभामा पठाएको अर्थ विधेयक बाहेक अन्य विधेयक राष्ट्रियसभाले आफू समक्ष प्राप्त भएको दुई महीनाभित्र पारित गरी वा सुझाव सहित फिर्ता पठाउनु पर्नेछ ।’

यो विधेयक १५ असार २०८२ मा प्रतिनिधिसभाले पास गरेर राष्ट्रियसभामा पठाएको थियो । यसअनुसार विधेयक भोलिसम्म पास गरिसक्नुपर्ने बाध्यतामा राष्ट्रियसभामा छ । अन्यथा प्रतिनिधिसभाले विधेयक अगाडि बढाउन सक्छ । यस्तोमा प्रतिनिधिसभाले निर्णय गर्न सक्नेछ ।

  • १६ भाद्र २०८२, सोमबार १७:०७ प्रकाशित