पोखरा ।
पोखरा महानगरपालिका वडा नं.२८ का स्थानीयहरूले आफ्ना समस्याहरू बारे नगर प्रमुख धनराज आचार्यलाई जानकारी गराएका छन् ।
उनीहरूले नियमित विद्युत् आपूर्तिमा भइरहेको समस्या, यातायातको समस्या, कृषिजन्य उत्पादनको बजारीकरण, बाँदर आतङ्क, खानेपानी लगायत समस्याहरू नगर प्रमुख समक्ष राखेका छन् ।
नगर प्रमुख आचार्यले पोखरा २८ वासीका समस्याहरू बारे आफू जानकार रहेको उल्लेख गर्दै ती समस्याहरूको क्रमशः समाधान गर्दै जाने प्रतिबद्धता जनाएका छन् । महानगरपालिकाको तर्फबाट हुने कार्य तत्काल अघि बढाउने र अन्य निकायहरूले गर्ने कार्यका सम्बन्धमा आवश्यक समन्वय गर्ने उनले बताए ।
महानगरको ग्रामीण क्षेत्रहरूमा बाँदर लगायतको समस्या रहेकाले ती समस्याहरूको समाधानका लागि वन क्षेत्रमा फलफूलका बिरुवाहरू लगाउने र बाँदर धपाउनका लागि अन्य व्यवहारिक उपायहरू समेत अपनाउन उनले सुझाव पनि दिए।
विद्युत् नियमित आपूर्तिका लागि विद्युत् प्राधिकरणसँग समन्वय गर्ने र खानेपानीको नियमित आपूर्तिका लागि विशेष पहल गर्ने उनले बताए ।। कृषिजन्य उत्पादनको बजारीकरणका लागि महानगरपालिकाले सञ्चालन गरिरहेको कृषि एम्बुलेन्सको सेवालाई विस्तार गरिने उनले बताए ।
यातायात सेवाको नियमितताका लागि सम्बन्धित यातायात व्यवसायीहरूसँग समन्वय गरेर समस्याको समाधान गरिने उनले बताए। जनसरोकारका विषयहरूमा आफू गम्भीर रहेको उनले बताए।
नगर प्रमुखसँगको भेटपछि आफ्ना समस्याहरू समाधान हुने विश्वासमा रहेका स्थानीयहरूले खुसी व्यक्त गरेका छन् ।















